८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

राहुलको खिल्ली उडाउदै रामदेवले भने,– हारको समीक्षा होइन योग गर !



एजेन्सी ।
लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको जित तथा कांग्रेसको नराम्रो हारपछि भारतीय अर्बपति बाबा रामदेवले कांग्रेस अध्यक्ष राहुल गान्धीप्रति व्यंग गरेका छन्। रामदेवले भनेका छन् कि नरेन्द्र मोदीले राहुल गान्धीलाई शीर्षासन गराइदिएका छन् अब हारको समीक्षा गर्नुभन्दा पनि ध्यान र योग गर्नु वेश हुनेछ।
योगगुरु भनेर समेत चर्चित रामदेव सन् २०१४ को लोकसभा निर्वाचनमा नरेन्द्र मोदी र भाजपाका कट्टर समर्थकमात्रै होइन प्रचारक पनि थिए। यो लोकसभा निर्वाचनमा भने उनले मोदीको प्रचार गरेका थिएनन्। उनले मोदीले पहिलो कार्यकालमा २०१४ को निर्वाचनमा गरेका घोषणा पूरा नगरेको भनेर निराशा व्यक्त गरेका थिए। तर, मोदी फेरी सत्तामा आएपछि भने रामदेवले विपक्षी पार्टीका अध्यक्षमाथि व्यंग गरेका हुन्। त्यस्तै, रामदेवले राहुल गान्धीकी बहिनी तथा कांग्रेस महासचिव प्रियंका गान्धीको पनि खिल्ली उडाएका छन्।
उनले प्रियंका वाराणसीबाट उम्मेदवार नबनेर ठिक गरेको भन्दै चुनावमा उठेको भए राजनीतिक करिअर नै खतम हुने थियो भनेर खिल्ली उडाएका हुन्। वाराणसीबाट प्रधानमन्त्री नरेन्द्र मोदी निर्वा्चित भएका छन्। जहाँ कांग्रेसले अन्तिम समयसम्म प्रियंकालाई उम्मेदवार बनाउने भनेर चर्चा भएको थियो। कांग्रेसका नेताहरूको खिल्ली उठाउनमा रामदेव यत्तिमै रोकिएका छैनन्। उनले नराम्रोसँग पराजित कांग्रेसका नेताहरूलाई अनुलोम विलोम र कपालभाँति गर्न पनि सल्लाह दिएका छन्। चन्दीगढको एक कार्यक्रममा रामदेवले यस्तो भाषण गरेका हुन्।

प्रकाशित मिति : ११ जेष्ठ २०७६ शनिबार ००:००  २ : ३८ बजे