१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

विश्वकप क्रिकेट, पाकिस्तानविरुद्ध वेष्ट इन्डिजको सहज जित



काठमाण्डौ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले पाकिस्तानमाथि सात विकेटको सहज जित हात पारेको छ ।

नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान २१ ओभर चार बलमा मात्र १०५ रनमा अलआउट भयो । निकै कमजोर ब्याटिङ गरेको पाकिस्तानले १७ रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ३५ रन बनाउँदा दोस्रो विकेट खेर फालेको उसले ४५ रनमा तेस्रो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको पाकिस्तानका कुनै पनि खेलाडीबीच राम्रो साझेदारी हुने सकेन । वेष्ट इन्डिजको बलिङ अगाडि कमजोर देखिएको पाकिस्तानका लागि फकर जमान र बाबर आजमले समान २२–२२ रन बनाउँदा मोहम्मद हफिजले १६ रन जोडे । अन्तिममा वहाब रियाजले १८ रन थपेका थिए ।
पाकिस्तानको पारीलाई ध्वस्त पार्ने क्रममा जेसोन होल्डरले तीन तथा ओसाने थोमसले चार विकेट लिए भने आन्द्रे रसेलले दुई विकेट हात पारे ।

जवाफमा वेष्ट इन्डिजले १३ ओभर ४ बलमा तीन विकेट गुमाउँदै पाकिस्तानविरुद्ध सात विकेटको जित हात पार्‍यो । वेष्ट इन्डिजका क्रिस गेलले ५० तथा शेइ होपले ११ रन बनाए । यस्तै निकोलस पुरनले अविजित ३४ रन तथा शिमरन हेटमेयरले ७ रन बनाए ।
पाकिस्तानका लागि बलिङतर्फ मोहम्मद आमिरले तीन विकेट लिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६ शुक्रबार ००:००  ७ : ०५ बजे