२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

पौडेलको आरोपः प्रधानमन्त्री ओलीले जनमतको दुरुपयोग गरे



सुर्खेत ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले दुईतिहाई जनमतको दुरुपयोग गरेको आरोप लगाएका छन्। कांग्रेसको जनजागरण अभियानका लागि सुर्खेत पुगेका पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम तानाशाह बन्नेतर्फ उद्धत रहेको बताएका हुन्। चुनाव जितेर आएका सबै लोकतान्त्रिक नहुने भन्दै नेता पौडेलले ओली सरकार तानाशाह बन्नेतर्फ उन्मुख भएको दाबी गरे। ‘हिटलरले पनि चुनाव जितेर नै आएका हुन,’ उनले भने, ‘संघीयता र संविधानविपरीत काम गर्दै गइरहेका छन्। सबै अधिकार आफैतर्फ केन्द्रित गरेका छन्।

न्यायालय, संवैधानिक निकाय माथि हस्तक्षेप भइरहेको छ।’ नेता पौडेलले सरकारले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार नदिएर संविधिानविरोधी बाटोमा हिँडेको पनि आरोप लगाए। ‘गाउँमा संघीयता आएको भनेर प्रचार गरिएको छ,’ उनले भने, ‘तर अहिले पनि केन्द्रबाटै बजेट दिने गरी केन्द्रिकृत शासनको अभ्यास भएको छ, स्थानीय सरकारलाई बेवास्ता गरिएको छ।’ सत्तारुढ नेकपाले जनतालाई बाँडेका आश्वासन र स्वर्गका सपना कता हराए भनेर प्रश्न गर्नुपर्ने बेला आएको बताए। ‘सांसदलाई करोडौं बाँडेर उपभोक्ता समिति बनाई भ्रष्टाचार गर्ने नियत सरकारको देखिएको छ,’ उनले भने, ‘हिजो जनतालाई देखाएका सपना कता हराए, जनतालाई ढाँटने र भ्रमित गर्ने काम अहिले सरकारले गरेको छ।’ कम्युनिस्टहरुले नारा शोषितपीडितका लागि दिने तर आफैं पीडक बनेर काम गर्ने गरिरहेको आरोप लगाए। ‘अहिले सरकारले पक्षपाती शासन गरिरहेको छ, आफ्ना मान्छेलाई छानीछानी आयोजना बाँडेको छ,’ पौडलले भने ‘मनपरी गरेको छ यस्तो तालले विकास कसरी सम्भव छ।’

प्रकाशित मिति : १८ जेष्ठ २०७६ शनिबार ००:००  १२ : १७ बजे