२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

ओलीसँगको एकता झन् सुदृढ हुन्छः प्रचण्ड



विराटनगर ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको बेला भएका सहमतिलाई आफूले स्मरणमात्र गरेको कुरालाई अतिरञ्जित रुपमा प्रचार गरिएको बताएका छन् । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम्रोसँग बुझेको प्रचण्डले बताए ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले अन्तर्वार्तामा पार्टी एकताको बेला हाम्राबीच भएका कुरालाई स्मरण मात्र गरेको छु । ठूलो प्रचार गर्नुपर्ने, होहल्ला गर्नुपर्ने । बिल्कुल नयाँ विषय मैले बोलेकै छैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओली र आफूबीच आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको र सो सहमति पालना हुने विश्वास व्यक्त गरेका थिए । अबको १५ महिनापछि ओलीले सत्ता सुम्पिने प्रचण्डको विश्वास थियो ।प्रधानमन्त्री ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका बेला त्यहाँ पत्रकाहरुले पनि यसबारे जिज्ञासा राखेका थिए । त्यसको जवाफमा ओलीले व्यंग्यात्मक शैलीले आफ्नो कार्यकाल चार(पाँच दिन मात्र बाँकी रहेको बताएका थिए ।

ओलीले दिल्लीमा दिएको अभिव्यक्तिमा शनिबार विराटनगरका पत्रकारहरुले प्रचण्डको प्रतिक्रिया मागे । जवाफमा प्रचण्डले भने, ‘प्रधानमन्त्री जीले कुरा राम्रोसँग बुझ्नु भएको छ । उहाँले अलिअलि प्रतिकात्मक रुपमा भन्नु भएको होला । बढी प्रचार भएको अर्थमा उहाँले भन्न खोज्नु भएको होला ।’

उनले यस विषयलाई अनावश्यक प्रचारबाजी नगर्न सबैलाई आह्वान गरे । प्रचण्डले भने, ‘मैले जे बोलें त्यो कुरा पहिल्यै बाहिर आइसकेको कुरा हो । नयाँ कुरा बोलेको होइन । कयौं किताबमा छापिएको छ, पत्रिकामा आइसकेको छ । हाम्रो बीचमा के समझदारी भएको छ भनेर मैले नौलो कुरा भनेको पनि होइन र यो पहिलो पटक भनेको पनि होइन । त्यसकारण यसलाई अतिरञ्जित ढंगले लैजान जरुरी छैन ।’

प्रचण्डले पार्टी एकताको बेला जे सैद्धान्तिक र व्यवहारिक प्रतिवद्धता जनाइएको थियो, त्यही लाइनमा अगाडि बढ्दै जाने बताए । प्रचण्डले अब पार्टी कमजोर नहुने बरु झन् सदृढ हुने दावीसमेत गरे । प्रचण्ड र ओलीका पछिल्ला अभिव्यक्तिले पार्टीमा दरार बढ्नसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘बढी प्रचारबाजी भएको देखेपछि पार्टी र नेतृत्व तहमा अझ बढी सदृृढ एकता बनेरै जान्छ ।’

भारतको विदेशमन्त्री एस जयशंकर बनेपछि दुई देशको सम्बन्धमा पर्न सक्ने प्रभावबारे पनि पत्रकारहरुले जिज्ञासा राखेका थिए । तर, प्रचण्डले विदेशमन्त्री जो बने पनि नेपाल(भारत सम्बन्धमा असर नपर्ने विश्वास व्यक्त गरे ।
‘नाकाबन्दी र संविधान निर्माण प्रक्रियामा जे जस्ता कुराहरु भए त्यसबाट भारतले शिक्षा लिइसकेको छ । नेपालले पनि त्यसखालको परिस्थिति नदोहोरियोस् भने सतर्कता अपनाएको छ,’ प्रचण्डले भने, ‘त्यसकारण विदेशमन्त्री भारतको को हुन्छ भन्ने कुराले तात्विक अन्तर हाम्रो सम्बन्धमा पर्दैन ।’

प्रकाशित मिति : १८ जेष्ठ २०७६ शनिबार ००:००  १२ : ३८ बजे