२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

भारतमा एक नेपालीको हत्या



बैतडी ।
बैतडी घर भएका एक नेपालीको भारतमा हत्या गरिएको छ। हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। भारतको पिथौरागढ जिल्लाको बृहत ग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ। जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडीयारी जंगलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले चन्दको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। चन्दको हत्या गरेको आरोपमा पिथौरागढका निरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ।
चन्द भारतमा मजदुरी गर्दै आएका थिए। हत्या आरोपमा पक्राउ परेका निरज कुमार जिपका खलासी रहेका बुझिएको छ। मादक पदार्थ सेवन गरी विवाद हुँदा कुमारले फलामको रडले चन्दको टाउकोमा हिर्काएका थिए। टाउकोमा गम्भीर चोट लागेका चन्दलाई जिपमा राखी जंगलमा लगेर गाडेका जनाएको छ।
मृतक चन्दको शव परीक्षणका लागि पिथौरागढको एक सरकारी अस्पतालमा राखिएको भारतीय प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। शव ढिला गरी फेला परेकोले सडेको अवस्थामा रहेको छ। चन्दको ठेगाना बैतडीको तल्लोस्वराड भन्ने मात्रै खुलेको र तल्लोस्वराड कुन ठाउँका हुन भन्नेसमेत खुलेको छैन। घटनास्थल नेपाल भारत सीमा नाका बैतडीको झुलाघाटबाट १८ किलोमिटरको दूरीमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६ शनिबार ००:००  १ : ०८ बजे