२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

दक्षिण कोरियाली टिभी हेर्दा मृत्युदण्ड!



एजेन्सी,  दक्षिण कोरियाको एक गैरसरकारी संस्थाले उत्तर कोरियाली सरकारले सार्वजनिक रुपमा सर्वसाधारणलाई मृत्युदण्ड दिएका ३ सय १८ वटा स्थानको पहिचान भएको जनाएको छ। ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुपले चार वर्षको अवधिमा ६ सय १० जना उत्तर कोरियालीहरुसँग भगौडाहरुसँग अन्तरवार्ता लिएर तयार पारेको प्रतिवेदनमा सार्वजनिक रुपमा मृत्यु दण्ड दिइएका स्थान पहिचान गरेको जनाएको हो। प्रतिवेदनमा गाई चोरी गरेको देखि लिएर दक्षिण कोरियाली टेलिभिजन हेरेकोसम्मको आरोपमा उत्तर कोरिया सरकारले मृत्युदण्ड दिएको उल्लेख छ। समूहले नदी किनार, खेत, विद्यालय र खेलकुद मैदानमा सार्वजनिक रुपमै मानिसहरुलाई मृत्युदण्ड दिइएको दाबी गरेको छ। ‘म्यापिङ द फेट अफ द डेड’ नामक प्रतिवेदनमा सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको हेर्न एक हजारभन्दा बढी सर्वसाधारण जम्मा हुने गरेको उल्लेख छ। मृत्युदण्ड दिइने मानिसका आफन्त तथा नाबालकलाई कतिपय घटना हेर्न बाध्य पारिएकोसमेत प्रतिवेदनमा आरोप लगाइएको छ। उत्तर कोरियाका जेल र श्रम शिविरजस्ता बन्दीगृहमा पनि मृत्युदण्ड दिने गरिएको छ। उत्तर कोरियाली भगौडाहरुले दिएको जानकारीअनुसार अधिकांशलाई गोली हानेर मृत्युदण्ड दिने गरिएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : २९ जेष्ठ २०७६ बुधबार ००:००  ८ : १३ बजे