२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको हाहाकार



पर्वत ।
पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ। केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ शुरु हुँदा बजारमा पानीको अभाव भएको हो। लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको अभाव भएपछि बजारवासी पानीको खोजीमा भौतारिन थालेका छन्।
बजारवासी बिहान सबैरै छिमेकीका घर–घरमा पानीको खोजीमा धाउन बाध्य भएका छन् भने बजार नजिकै रहेका इनार, खोल्सा र खोलामा जान बाध्य भएका छन्। कुश्मा नगरपालिका–५ बडागाउँको मेलमिलाप चोकमा बस्दै आएका शिक्षक दुर्गा भुसालले पानीको अभावकै कारण लुगा धुन नपाउँदा विद्यालय जान नै समस्या भएको बताए। अर्का स्थानीयवासी शालिग्राम पौडेलका अनुसार धारामा नियमित पानी नआउँदा खानेपानीको सङ्कट परेको बताउ। उनले दैनिकजसो जार र बोत्तलको पानी किनेर खानुपरेको गुनासो गरे।
दिनको एकपटकसम्म पनि धारामा पानी नआउँदा सदरमुकामबाट झण्डै आधा घण्टा टाढा रहेको दोबिल्लाबाट सवारीमा पानी ओसार्नुपरेको होटल व्यवसायीको गुनासो छ। पानीको अभावकै कारण भाँडा सफा गर्न नपाउँदा होटल नै बन्द गर्नुपर्ने स्थिति आएको होटल सञ्चालक सुशीला कुँवरले बताइन्।
बिहान र बेलुकाको दैनिकी भनेकै पानीको भिक्षा माग्दै हिँड्नुजस्तै भएको भन्दै स्थानीयवासीले कुश्मामा पानी वितरण गर्दै आएको कुश्मा खानेपानी कार्यालयप्रति आक्रोश पोखेका छन्।
कुश्मा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाका उपाध्यक्ष रमाकान्त शर्माले अत्यधिक गर्मी हुँदा पानीका मुहान सुक्नु, पानीको मुख्य मुहान रहेको ठाउँ कुश्मा नगरपालिका–२ खुर्कोटमा धान रोपाइँ शुरु हुनु र बजारका कतिपय ठाउँमा पानीको लिकेज रहेका कारण पानी अभाव भएको जानकारी दिए।
कुश्मा बजारमा एक दिनमा झन्डै २५ लाख लिटर पानीको खपत हुने गरेकामा अहिले बढीमा १५ लाख लिटर मात्र आपूर्ति भइरहेको छ। आपूर्ति भएकोमध्ये पनि झन्डै ३० प्रतिशत पानी पाइप फुट्नुलगायतका कारण बीचमै लिक हुने गरेको कार्यालयले जनाएको छ। रासस

प्रकाशित मिति : २ असार २०७६ सोमबार ००:००  २ : ०१ बजे