२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

सरकारले प्रेस स्वतन्त्रतालाई खुम्चाउने काम गर्‍योः देउवा



काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाक, अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई खुम्चाउने काम गरिरहेको आरोप लगाएका छन् ।

सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा जन्म भई समाजका विभिन्न विधामा ख्याति कमाएका व्यक्तिलाई सम्मान गर्दै देउवाले प्रेसलाई कमजोर बनाउनु भनेको मुलुकलाई अधिनायकवादको दिशातर्फ उन्मुख गराउनु रहेको बताए ।

सम्मानित हुनेमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, सामुदायिक वनका अभियन्ता निलप्रसाद भण्डारी, पूर्व प्रशासक नेत्रबहादुर कार्की, शिक्षासेवीद्धय अञ्जु खड्का र मोहन कोइराला तथा गीत सङ्गीत क्षेत्रका प्रतिभा आयुष केसी छन् ।

समारोहमा बालप्रतिभा केसीलाई प्रेरणा दिन गाउँपालिकाको तर्फबाट दुई लाख नगद प्रदान गरियो । पूर्वप्रधानमन्त्री देउवाले भने, ‘सरकारले जनतालाई ठूलो करको भार थोपरेको छ, यसबाट जनताले निकै सास्ती खेप्नु परेको छ ।’

लोकतन्त्र र संविधानले सुनिश्चित गरेका गतिविधिलाई अँकुश लगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले नेपाली कांग्रेसको नेतृत्वमा रहेका स्थानीय तहमा जनतालाई आर्थिक भार पर्ने कुनै पनि कर नलगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिए ।

नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक सङ्घीयतामा गएसँगै सिहदरबारको अधिकार गाँउ–गाँउमा पुर्‍याउने भनिएकोमा अहिले बालुवाटर केन्द्रित गर्ने प्रयास भइरहेको आरोप लगाए ।

विश्वमा सामुदायिक सम्बन्धी नीति अँगालेका देशका लागि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका प्रेरणाको स्रोत बनेकोमा खुशी व्यक्त गर्दै उनले गाउँपालिकाले जनताका लागि प्रदान गर्ने सेवामा करमुक्त गरेकोमा प्रशंसा गरे ।

प्रकाशित मिति : १४ असार २०७६ शनिबार ००:००  २ : १५ बजे