८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

ग्लोबल टी २० मा सोमपाल आवद्ध टिमद्धारा सन्दिपको टिम पराजित,



एजेन्सी,
क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिगमा सोमपाल कामी आवद्ध विनिपेग हक्सले सन्दीप लामिछाने आवद्ध टोरन्टो नेशनल्सलाई तीन विकेटले पराजित गरेको छ । क्यानडामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा सात विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो । भारतीय खेलाडी युवराज सिंहको कप्तानीमा रहेको टोरन्टोले सन्दीपलाई आइतबारको खेलमा बेन्चमा राखेको थियो । यही खेलका लागि सन्दीप र सोमपाल सिंगापुरबाट टी २० विश्वकपको एसिया छनोट सकिएको केही समयपछि क्यानडा गएका थिए ।

टोरन्टोका लागि रोद्रिगो थोमसले ६५ रन बनाए भने युवराज सिंहले ४५ तथा कायरन पोलार्डले विस्फोटक ५२ रन बनाए । पोलार्डले २१ बलमा तीन चौका र ५ छक्का प्रहार गरेका थिए । बलिङमा ड्वायन ब्राभोले चार विकेट लिए ।

जवाफमा सोमपालको टिम विनिपेगले २० ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा र्गयो । उसका शीर्ष तीन खेलाडीले मात्र दोहोरो अंक बनाए पनि जित निकाल्न सफल भयो । उसका लागि क्रिस लियोनले विस्फोटक ८९ रन बनाए । जसमा उनले ४८ बलमा दुई चौका र १० छक्का प्रहार गरेका थिए ।

यस्तै, सेइमन अनवरले ४३ तथा सन्नी सोहलले ५८ रन बनाए । उसको जितमा सन्नी सोहल र क्रिस लियोन बीचको सतकीय साझेदारी नै जितको आधार बन्यो । दोस्रो विकेटका लागि लियोन र सोहलबीच एक सय १७ रनको साझेदारी भएको छ ।यो खेलमा सोमपाल पनि बेन्चमा रहेका थिए । यो जितले विनिपेगले तीन खेलमा चार अंक बनाउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६ मंगलबार ००:००  ८ : १२ बजे