५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रासायनिक मल अभाव भएकै हो, साँचो कुरा सुन्न सक्नुपर्छ : कृषि मन्त्री खनाल



मायादेवी अनलाइन, गोरुसिंगे । 

केन्द्रिय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले रासायनिक मल अभाव साँचो कुरा भएको बताउनुभएको छ । अर्थ मन्त्रालयले मल आयात गर्न मागे जति  रकम दिन नसक्दा किसानलाई धान रोप्ने बेला चाहे जति मल उपलब्ध गराउन नसकिएको मन्त्री खनालले स्विकार गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुको प्रचार प्रसार तथा प्रकाशन विभागले गोरुसिंगेमा मंगलबार आयोजना गरेको सञ्चारकर्मीको लागि एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटनसस्त्रको प्रमुख अतिथिको आशनबाट बोल्दै मन्त्री खनालले मल अभावबारे पत्रकारले यथार्थ कुरा पस्केर जनतासामु पुर्याउने काम गरेको भन्दै धन्यवाद दिनुभयो ।

मलको अभाव आफु एक्लैले टार्न नसक्ने भन्दै यो विषय जुनसुकै मन्त्री आएपनि यस्तै हुने दाबी गर्नुभयो । यद्यपि अर्थ मन्त्रालयसंग माग गरिए जति आवश्यक बजेट आएको खण्डमा केही समस्या हल गर्न सकिने जिकिर गर्नुभयो । रासायनिक मलको कारखाना नेपालमा खोल्न सकिने अवस्था तत्काल नभएको र भारतका किसानलाई पनि भारतीय सरकारले प्रयाप्त मल दिन नसकेको बेला नेपालमा प्रयाप्त मल आउन गाह्रो हुने बताउनुभयो । तर, अहिलेको सरकारले मल अभाव टार्नका लागि विभिन्न प्रयास गरेको भन्दै अब आगामी दिनमा यस्तो नहुने बताउनुभयो ।

किसानलाई धान रोप्ने बेला रासायनिक मलको चरम अभाव थियो । त्यो बेला कृषि मन्त्री सामु कपिलवस्तुका किसानले मल अभावबारे गुनासो गरेका थिए । किसानका गुनासा सुन्दै रेडियो मायादेवी र मायादेवी अनलाइन डटकमले मल अभावको बारेमा कृषि मन्त्रीको ध्यानाकर्षण गराउँदै समाचार सम्प्रेषण गरेको थियो ।

यस्तो थियो किसानको आक्रोस

कृषिमन्त्री खनालप्रति किसानको आक्रोशः हदै भयो–‘कि मल लेऊ, कि राजिनामा देऊ’!

यद्यपि कपिलवस्तु वाणगंगाको एक सञ्चार गृहले जिल्लामा प्रयाप्त मल भएको हवला दिदै किसान समक्ष भ्रमको खेती गरेको थियो । कृषि मन्त्रीको निर्देशनमा जिल्लामा पर्याप्त मल आएको भन्दै मल अभावबारे उक्त मिडियाले झुट समाचार सम्प्रेषण गरेको थियो ।

यो पनि पढ्नुहोस

मन्त्रीको दबाबमा मिडियाको चरम दुरुपयोग, डिएपी अभाव टार्न अनेक प्रपञ्च !

मन्त्रीको नजिक बनेर जनतालाई भ्रम छर्ने काम अन्ततः पछि परेको छ । कृषि मन्त्री खनाल स्वय्मले नै किसानलाई चाहिए जति मल दिन नसकेको मंगलबार स्विकार गर्नुभएको छ ।

उहाँले कार्यक्रममा सम्बोधन गर्दै सरकारले प्रयाप्त मल दिन नसके पछि भारतबाट किसानलाई मल ल्याउनका लागि सहजिकरणको भूमिका खेलेको समेत खुलासा गर्नुभयो । जबकी भारतबाट आयात गरिएको मल अवैधानिक मानिन्छ । नेपालका किसानलाई सरकारले अनुदान स्वरुप मल दिदै आएको छ ।

तर, देशभर मलको हाहाकार मच्चिए पछि आफुले सिमानाकामा कडाई नगर्न प्रशासन समक्ष अनुरोध गरेको खुलासा गर्नुभयो । कपिलवस्तु जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री खनालले जिल्लाका किसानलाई सहजताका लागि आफुले त्यस्तो कदम उठाएको बताउनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरीधारीलाल न्यौपाने, केन्द्रिय सदस्य तथा कपिलवस्तुकी सह इन्चार्ज विमला घिमिरे, पार्टी जिल्ला अध्यक्ष झविलाल पोख्रेल लगायतले बोल्नुभएको थियो । उक्त उद्घाटनसस्त्र पछि पार्टीका केन्द्रिय सदस्य सूर्य थापाले सञ्चारकर्मीलाई पार्टी प्रचार र पार्टीको सिद्धान्तबारे प्रशिक्षण दिनुभएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७६ मंगलबार ००:००  ७ : २५ बजे