४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

‘सफलताका बर्ष दिन’



मायादेवी मिडिया ग्रुप प्रा.लि.स्थापनाको बर्ष दिन पुगेको छ । यस अवसरमा हाम्रा सम्पूर्ण दर्शक, स्रोता, पाठक, विज्ञापनदाता, शुभेच्छुक, शुभचिन्तक तथा आम नागरिकलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । सफलता मापन गर्ने कुनै यन्त्र त छैन्, यद्यपि सामाजिक कार्य गर्ने कम्पनी भएकोले तपाईहरुकै सल्लाह, सुझाव र निरन्तरको मार्गदर्शनले हाम्रा बर्ष दिन सफलतासंगै विते भन्छौं । व्यक्तिगत जीवनमा काटिएको बर्ष दिन भन्दा सामाजिक जीवनमा काटिएको बर्ष दिन ज्यादै महत्वपूर्ण र छोटो हुने रहेछ भन्ने आभाष हामीलाई भएको छ ।
कपिलवस्तुमा रहेर अहिलेको न्यू मिडिया (अनलाइन) सञ्चालन गर्ने दुष्साहस हामीले गरेका थियौं ठ्याक्कै एक बर्ष अगाडी । मायादेवी अनलाइन डटकम सञ्चालन स्वरुप हामीले मायादेवी मिडिया ग्रुपको परिकल्पना गरेर कम्पनी खोलेका थियौं । कम्पनीको परिकल्पना २०७५ साउन २० गते गरेका हौं । ठ्याक्कै आज एक बर्ष भएको छ । कम्पनीको मुख्य उद्धेश्य सञ्चार माध्यम सञ्चालन नै थियो । देश संघीय लोकतान्त्रिक व्यवस्थामा सञ्चालन भैरहदा पत्रकारीताको विकास पनि संगसंगै अगाडी बढेको छ । मिडियामा लगानी गर्नेहरुको क्रमश आकर्षण बढीरहेको छ । यद्यपि मिडिया सोचेजस्तो सफल भने हुन सकेका छैनन् ।
मिडियामा लगाएको लगानी कति टिक्छ ? हामीले त्यो सोचेका छैनौं । सोचेका छौं त हाम्रो मिडियाको करिअर । मिडियाको करिअर खोज्दै पत्रकारितामा हाम फालेकाहरुले नै मायादेवी मिडिया ग्रुपको परिकल्पना गरेर कम्पनी खोलेका हौं । हामी जति जनाले कम्पनी खोलेका छौं सबै व्यावसायिक पत्रकारिता पेशा अंगालेका पत्रकारहरु हौं । त्यसैले हामी टिक्न सक्छौं भन्ने दृढ विश्वास छ ।
हाम्रा बर्ष दिन सुखत तरिकाबाट वितेका छन् । बर्ष दिनका पलहरु हामीले नजिकबाट नियाल्दा सकारात्मक सन्देश दिने खालका देखिन्छन् । मोफसलमा बसेर व्यावसायिक पत्रकारिता पेशा अंगाल्नुको पीडा कति छ भन्ने कुरा त सायदै प्रत्यक्ष पेशा अंगालेर जीविकोपार्जन गर्नेलाई थाहा छ । सानो बजारका बीचमा व्यावसायिक मिडिया कम्पनी खोल्नु चुनौती थुप्रै छ । तरपनि पत्रकारिता समाजको तेस्रो आखाँ भएकोले तेस्रो आखाँ मर्न दिनुहुन्न भन्ने मान्यताले हामीले चुनौती मोलेका हौं ।
मायादेवी अनलाइन डटकम सञ्चालन गर्दै आएको मायादेवी मिडिया ग्रुपले डिजिटल मिडियामा जिल्लामा एउटा राम्रो छाप छाड्न सफल भएको छ । जिल्लाको पहिलो व्यावसायिक र आधिकारीक अनलाइन न्यूज पोर्टलका रुपमा हामी स्थापित भयौं । जुन इतिहास बनेको छ । यसैमा हामी गर्व गछौं । यतिमात्र होइन जिल्लामा ग्रुपद्धारा सञ्चालित मायादेवी टेलिभिजन ( अनलाइन टिभी) स्थापना गरेर उदाहरणीय काम गर्यौं ।
मायादेवी मिडिया ग्रुपका बर्ष दिनमा हामीले महत्वपूर्ण काम गरेका छौं । कपिलवस्तु वाणगंगा-४ झुँगाकी अनिता पौडेल हत्या पछिको अवस्थालाई हामीले नजिकबाट नियाल्यौं । पौडेल हत्याका हत्यारालाई पक्राउ गर्न हाम्रो निरन्तर खबरदारी रहन गयो । अन्ततः यसमा हामी सफल भयौं । पौडेल हत्यामा संलग्न अहिले कारागार चलान भए । पीडितले न्याय पाए । यो घटना निकै रहस्यमय थियो । यति मात्र होइन्, धान रोप्ने बेलामा मलखादको ठूलै संकट देखा पर्यो । यसमा पनि हाम्रो निरन्तर सरकारलाई खबरदारी रहन गयो । जिल्ला भित्र राम्रो काम गर्नेहरुलाई सधै हामी प्रशंसा गर्यौं, उर्जा भर्ने काम गर्यौं ।
स्थानीय सरकारसंग हामी नजिक भएर काम गर्ने अवसर पायौं । स्थानीय सरकारका गतिविधि हामीले थुप्रै पस्कियौं । स्थानीय सरकार जनताको सिंहदरबार बन्नुपर्छ भन्ने मान्यतामा अडिग बन्यौं । कतिपय स्थानीय सरकारका नराम्रा कुरालाई जनताबीच लग्यौं । हामी सधै जनतालाई प्रमुख बनाएर समाचार सामग्री पस्कियौं । हामी कुनै विचारबाट प्रभावित भएनौं । कुनै कसैबाट प्रभावित भएनौं । हामीले कहिल्यै कसैसंग गलत कुरासंग भित्र सम्झौता गरेनौं । यही नै हाम्रो सफलता ठानेका छौं ।
अन्तमाः आगामी दिनमा अझै परिस्कृत भएर जाने हामीले प्रण गरेका छौं । हामी सबैसंग सहकार्य गरेरै व्यावसायिक पत्रकारिता गर्ने उद्धेश्य राखेका छौं । अनलाइन मिडियालाई अझ भरपर्दो, अझ विश्वासिलो बनाउने हाम्रो संकल्प छ । अनलाइन मिडियामा देखिएका विकृतीको शिकारमा हामी पनि परेका छौं । छिटो समाचार दिने नाममा आउने झुट समाचारले अनलाइन मिडियालाई बदनाम गराएको छ । यसलाई चिर्ने हाम्रो प्रमुख लक्ष्य हुने छ । अनलाइनसंगै यो बर्ष हामी भिजुअल माध्यमलाई बढी प्राथमिकता दिने छौं । मायादेवी टिभी (युट्युव) च्यानललाई अझै प्रभावकारी बनाउने हाम्रो योजना छ । हामीसंग जोडिएका साथीहरुको आर्थिक पक्षलाई पनि बलियो पार्ने हाम्रो मिसन छ । आगामी दिनहरुमा पनि तपाई सबैको साथको चाहना गर्न चाहन्छौं ।
-सम्पादक

प्रकाशित मिति : २० श्रावण २०७६ सोमबार ००:००  १० : २२ बजे