२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कृषि मन्त्रीकै गृह जिल्लामा मलखादको चरम अभाव, कृषक आक्रोसित



मायादेवी अनलाइन, तौलिहवा ।
सिंचाईको अभाव झेलिरहेका कपिलवस्तुका कृषकहरु बिगत लामो समय देखि रासायनिक मल नपाउँदा आक्रोसित बनेका छन् । सप्रीरहेको धानलाई अहिले मल चाहिन्छ । प्रर्याप्त बर्षा नहुँदा लगाएको धान सुक्न थालेको बेला मलको समेत हाहाकार हुँदा उनीहरु चिन्तामा डुबेका छन ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल गृह जिल्लाका हुन् । तर उनै कृषि तथा पशुपन्छी मन्त्री खनालको गृह जिल्ला कपिलवस्तुमा समेत मलखादको चरम अभाव छ ।
गृह जिल्ला आएको बेला मन्त्री खनाल सहभागी हुने हरेका जसो कार्यक्रममा उनले मलखादको अभाव हुन नदिने घोषणा गर्ने गरेका छन । तर मन्त्री खनालको त्यो भनाई झुठा साबित भएको कृषकहरु गुनासो गर्छन । जिल्लामा २ महिना बढी देखि युरिया र डिएपी मलको चरम अभाव छ । सिचांईको अभावका बीच कृषकहरुले जेनतेन धानको रोपाई गरे । चाहिने बेलामा मल नपाए पछि उनीहरु मर्कामा परेका छन । धान खेतमा मल हाल्ने सयम हो अहिले । तर जिल्लामा युरिया र डीएपी मल नपाएर कृषकहरु मर्कामा छन् ।
प्रयाप्त बर्षा नहुँदा र मलखादको अभावले यस बर्ष धानको उत्पादनमा असर पर्ने कृषकहरु बताउँछन । मलका लागि कृषकहरु बजार र कृषि सामग्री कम्पनी लिमिटेडमा दिनहँु धाउने गरेको भए पनि नपाएर रित्तो हात फर्कन बाध्य छन् । कृषि प्राबिधिकका अनुसार अहिले धानमा युरिया मल हाल्ने सयम हो । कपिलवस्तु नगरपालिका– ३ बरन्डीहवाका कृषक राका यादवले युरिया मलको लागि एक महिना सम्म कृषि सामग्री धाए पनि मल नपाएको गुनासो गरे ।
सिंचाईको अभावका बीच बल्लतल्ल खेतमा धान रोपाई गरेका उनले आवश्यक सयममा युरिया र डिएपी मल नपाउँदा चिन्तित बनेका छन । ‘गृृह जिल्ला कै कृषि मन्त्री बनेकामा खुशी थियौ उहाले मलको अभाव हुन नदिने घोषणा समेत गर्नु भएको थियो’ कृषक यादवले आक्रोसित हुँदै भने ‘ मन्त्रीको भनाई त भाषण मै सीमित बन्यो’ । ‘ हामी कृषकले मल, बिउ सिंचाई केही पनि पाएनौ सबै नेताहरुले झुक्याउने काम मात्र गरे’ उनी दुःखी भने ।
दौडधुप गर्दा पनि मल नपाईए पछि उनले ११ सयको हाराहारीमा प्रति बोरा पाइने युरिया मल बजारमा १३ सय हालेर किनेको बताए । अभाव कै मौका छोपी केही ब्यापारीले भने कालोबजारी समेत गरीरहेको उनले आरोप लगाए । दुई महिना देखि मलकोलागि सदरमुकाम धाउदा पनि नपाएर आत्तिएका यशोधरा गाउपालिका– १ तिर्तिखीका कृषक दिपेन्द्र प्रकाश गुप्ताले मन्त्री खनालको आश्वासन समेत झुटो भएको बताए ।
जिल्लाको तौलिहवा र बहादुरगंजमा रहेको कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ मार्फत ३ सय बढी सहकारी संस्थालाई मल उपलब्ध गराईने गरिएको छ । दुई महिना देखि मलको अभाव भएको कृषि सामग्री कम्पनीले जनाएको छ । मलको स्टक सकिएको कारण कृषि सामग्री कम्पनी शाखाका कर्मचारीहरु समेत हैरान भएको बताए । मलका बिषयमा दिनहुँ थुप्रै कृषकहरु सोधपुछका लागि आउने गरेको कम्पनीको तौलिहवा शाखा प्रमुख दिनेश शर्माले बताए ।
मल नहुँदा गोदाम रित्तो रहेको उनले बताए । ३ सय ७७ मेटिक मेट्रिक युरिया र ३५ मेट्रिक टन डिएपी २ महिना अघि नै सकिएको बताए । कृषि चुन र पोटासको समेत मौज्दात सकिएको छ । आफ्नो क्षेत्रमा अहिले पाच पाच हजार मेट्रिक टन बढी युरिया र डिएपी मलको माग भएको उनले बताए ।
बाणगंगा सहकारी संस्थाका अध्यक्ष गिरीराज कंडेलले आवश्यक भएको बेलामा सामग्रीबाट मल नपाउँदा कृषकहरु मर्कामा परेको बताए । मल हाल्ने सबेलामा कहिले पाउने हो ठेगान नहुँदा आफुहरु झन मर्कामा परेको उनले गुनासो गरे । मलको अभाव भए पछि केही दक्षिणी भेगका कृषकहरुले भारतबाट लुकिछिपी ल्यएर खेतमा हाल्ने गरेका छन । तर प्रहरीले समेत कडाई गरे पछि झन गाह्रो परेको कृषकहरु बताउँछन ।

प्रकाशित मिति : ३१ श्रावण २०७६ शुक्रबार ००:००  ६ : १२ बजे