२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

ईटालियन सिरि एमा युभेन्ट्सले नापोलीलाई हरायो



काठमाडौं ।
ईटालियन सिरि एमा युभेन्ट्सले नापोलीलाई हराएको छ । शनिबार राति ७ गोल भएको खेलमा युभेन्ट्सले नापोलीमाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो।
१६ औ मिनेटमा ड्यानिलोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । १९ औ मिनेटमा गोन्जालो हिग्युनले अग्रतालाई दोब्बर बनाए । ६२ औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सलाई ३–० को स्थितीमा पुर्याएका थिए ।

६६ औ मिनेटमा कोस्टास मानोलसले नापोलीका लागि पहिलो गोल गरे । हिर्भिङ लोजानोले ६८ औ मिनेटमा गोल गर्दै खेललाई ३–२ को स्थितीमा पुर्‍याएका थिए । ८१ औ मिनेटमा जियोवन्नी डी लोरेन्जोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ उन्मुख खेलको ईन्जुरी समयमा नापोलीका कालिदौ कोलीबालीले आत्मघाती गोल गरेपछि युभेन्ट्सले खेलमा विजयी बन्यो । निकै नै रोमाञ्चक खेलमा युभेन्ट्स स्पष्ट ३ अंक जोड्न सफल बन्यो ।

पछिल्ला ८ उपाधि जितेको युभेन्ट्सका लागि म्याथिज डी लिटले नापोलीविरुद्वको खेलमा डेब्यु गरेका थिए । युभेन्ट्सका मुख्य प्रशिक्षक माउरिजियो सर्री निमोनियाका कारण टर्च लाईनमा देखिएनन् तर उनले एलिनाज स्टेडियममा बसेर खेल हेरेका थिए । शीर्ष स्थानको युभेन्ट्सले २ खेलबाट ६ अंक जोडेको छ । नापोली ३ अंक सहित आठौं स्थानमा छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६ आइतबार ००:००  ८ : १८ बजे