१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मनाइयो विपि जयन्ती, कपिलवस्तुका कुन कुन ठाउँमा भयो कांग्रेसको जागरण अभियान ?



मणी प्रसाद गैह्रे, तौलिहवा ।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक नेता एवं साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको १ सय ६ औं जन्म जयन्ती कपिलवस्तुमा पनि विविध कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति, क्षेत्रिय समिति र विभिन्न भातृ संस्थाहरुले विभिन्न स्थानमा कार्यक्रम, विरामीलाई फलफुल वितरण, सभा तथा गोष्ठी गरेर मनाएका छन् ।
यो संगै नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान समेत कपिलवस्तुमा जयन्तीकै अवसरवाट सुरुवात गरेको छ । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रिय कार्यसमितिले छत्रपाली तिर्थादेवी मा.वि. पकडीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांगे्रसका केन्द्रिय सदस्य एवं सांसद अतहर कमालले लोकतन्त्रको स्थापना र संस्थागत विकासमा वि.पि. को योगदानले नै अहिले मुलुकमा गणतन्त्र आएको बताउनुभयो । साथै वर्तमान नेकपाको सरकार संस्थागत भ्रष्टचार र जनतालाई कर थुपार्ने र विकास विरोधी काम गरेको आरोप लगाउनुभयो ।
सो अवसरमा प्रदेशसभा सदस्य वसिउद्धिन मुसलमान, हरिराज घिमिरे, क्षेत्रिय सभापति वलिउद्धिन मुसलमान, जिल्ला सह–सचिव विरेन्द्र शुक्ला लगायतले लोकतन्त्र र वि.पि.को बारेमा वोल्नुभएको थियो । त्यस्तै नेपाली कांग्रेस क्षेत्र नं. २ ‘क’ ले नेपाल राष्ट्रिय मावि मोर्मामा वृक्षारोपण कार्यक्रम गरेको छ । केन्द्रिय प्रतिनिधी अयोध्या प्रसाद यादव, क्षेत्रिय सभापति केशव कुमार श्रेष्ठ, हिमलाल न्यौपाने, माधव दोमासे, मिना केसी लगायतले वोल्नुभएको थियो ।
त्यस्तै नेपाली कांग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियानको शुरुवात र १ सय ६ औं बि.पि. जयन्तीको अवसरमा जिल्लाको बिभिन्न स्थानमा बृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस क्षेत्रिय कार्य समिती २ (ख) को आयोजनामा तौलिहवाको तौलेश्वरनाथ संस्कृत माबिको परिसरमा १ सय ६ वटा बृक्ष रोपिएको थियो ।
क्षेत्रिय कार्य समिती २ (ख) का सचिव विश्वनाथलाल श्रीवास्तव, केन्द्रिय प्रतिनिधि बिष्णु कुमार कार्की, पार्टीका पूर्व जिल्ला सभापति सुधाकर पाण्डेय, समितीका संयोजक तथा जिल्ला सचिव महेन्द्र कुमार पाठक, प्रदेशसभाका उम्मेदवार जवाहरलाल थारु, जिल्ला सदस्य माधव पराजुली, २ (क) का जिल्ला प्रतिनिधी रवि ठाकुर, महिला संघ जिल्ला अध्यक्ष मिना क्षेत्री सहितका पार्टी प्रतिनिधी बृक्षारोपणमा सहभागी थिए ।
सो अवसरमा बोल्दै पार्टीका पूर्व जिल्ला सभापति सुधाकर पाण्डेयले बिपी कोईरालाको योगदान र अगुवाईले नेपालमा लोकतन्त्रका लागि बाटो खुलेको बताउनुभयो । पार्टी लोकतन्त्रको मार्गबाट बिचलित नभई बिपीको मार्गमा हिड्नु पर्ने पाण्डेयले बताउनुभयो । केन्द्रिय प्रतिनिधी बिष्णु कुमार कार्कीले वि.पि.को बिचार बिनाको सत्ता प्राप्ति उपलब्धिमूलक हुन नसक्ने बताउनुभयो । पार्टीले समावेशी लोकतन्त्रको नितीलाई अख्तियार गरेको स्पष्ट पार्दै अब संगठन वडाबाट होईन टोलबाट सुरु गर्नु पर्नेमा उहाले जोड दिनुभयो ।
त्यस्तै नेपाल तरण क्षत्र नं. २ को आयोजनामा पकडी स्वास्थ्य चौकीमा फलफूल वितरण गरिएको छ । तरण दल सुनिल पाण्डेयको अध्यक्षता र नेता जमशेद खाँ लगायतको उपस्थितीमा वितरण गरिएको थियो ।
उता क्षेत्र नं. ३ को ‘ख’ मा पनि वृक्षारोपण गोष्ठी गरिएको केन्द्रिय प्रतिनिधी एवं महाधिवेशन प्रतिनिधी निमा थिरीले बताउनुभयो । जिल्लाका अधिकांश स्थानमा वि.पी.को जन्म जयन्ती मनाइएको नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : २४ भाद्र २०७६ मंगलबार ००:००  ७ : १७ बजे