२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

नेकपा त्यागेर अर्घाखाँचीमा ५ सय ७९ जना कांग्रेसमा प्रवेश



सन्धिखर्क ।
अर्घाखाँचीको पाणिनि गाउँपालिकामा तत्कालिन एकिकृत नेकपा माओवादीका वडाअध्यक्ष र सदस्य पदका उम्मेदवारसहित ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

पाणिनि गाउँपालिका ८ पालीमा स्थानीय तहको निर्वाचनमा तत्कालिन एकिकृत माओवादीबाट वडाध्यक्षका उम्मेदवार नुर मोहमद अलि र सदस्यका उम्मेदवार मधु पन्तसहितका ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका सभापति बिष्णु खनाल मुस्कान जानकारी दिए।

नेपाली कांग्रेस अर्घाखाँचीले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानअन्तर्गत मंगलबार पालीमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले बताए।
एमाले र तत्कालिन माओवादी मिलेर बनेको नेकपा जनतामुखी हुन नसकेको, विकासका काममा पक्षपात पूर्णव्यवहार गरेको , भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र आफ्नो गाउँको विकासमा दुई तिहाइको सरकारले कुनै पहल नगरेको भन्दै आफूहरु कांग्रेसमा प्रवेश गरेको तत्कालिन एमाओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार नुमहमल अलिले बताए।
आफ्ना समस्या र स्थानीयस्तरका विकासमा आफूहरुलाई नेपाली कांग्रेसले साथ र सहयोग गरेको र जनताको पाटी नेपाली कांग्रेस भएकाले कांग्रेसमा प्रवेश गरेको तत्कालिन एकिकृत माओवादीबाट वडासदस्य पदका उम्मेदवार मधु पन्तले जानकारी दिए।
नवप्रवेशीलाई नेपाली कांग्रेसका नेता चन्द्रबहादुर केसी, पूर्वमन्त्री रेवतिप्रसाद भुसाल, पार्टी सभापति विष्णु मुस्कान, पूर्व सभापती कमलप्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतमलगायतले प्रवेश गराएका हुन्।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि चन्द्र केसी, पूर्व मन्त्री रेवति भुसाल, सभापति विष्णु मुस्कान, पूर्व सभापति कमल भुसाल, काँग्रेस नेता हिम्मत टण्डन, उपसभापति शान्ता भण्डारी, क्षेत्रीय सभापति अच्युत गौतम लगाएतले मन्तव्य राख्दै यो लहरले सरकारलाई गतिलो जवाफ दिएको बताए। बहालवाला सत्ताधारी पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्नु नै सरकारको अलोकप्रीयता प्रष्ट देखिने उनीहरुको भनाई छ । भोलि जागरण अभियान अंगुरीमा हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०७६ मंगलबार ००:००  ३ : ०७ बजे