३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

छोरीको हत्यापछि बाबुले गरे आत्महत्या



धनगढी ।
तीन वर्षीया छोरीको हत्या गरी बाबुले आत्महत्या गरेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले विषादी दिएर छोरीको हत्या गरेका हुन्। त्यसपछि आफूले पनि विषादी खाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनले तीन वर्षीया छोरी अनुष्कालाई विषादी खुवाएपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झुन्डिएर आत्महत्या गरेपछि उनीविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका थिए। सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्दा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। साउन २२ गतेको अदालतको इजलासले उनलाई निर्दोष ठहर गरेपछि उनी छुटेका थिए। छुटेको झन्डै डेढ महिनापछि उनले नाबालक छोरीसहित बिष खाएर आत्महत्या गरेका हुन्। यसबारेमा अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए। उनले भने, ‘सफाइ पाइसकेपछि उनले किन छोरीको हत्या गरेर आफूले आत्महत्या गरे भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ।’ अदालतको फैसलामा सुसाइट नोट लेखेर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। आइतबार राति विष खाएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ आश्विन २०७६ सोमबार ००:००  ६ : २८ बजे