२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

तिमी र म नेपाली हुनुमा फरक रहेछ



नारायण खनाल ।

तिमी नेपाली हौं र

म पनि नेपाली हुँ

तर तिमी नेपाली हुनु र

म नेपाली हुनुमा फरक रहेछ

 

तिमी देश लुछेर डकार्छौ

म आफू भोकभोकै पिसिएर

तिमीलाई डकार्न चाहिने

परिकार टकार्छु

 

तिमी भोट माग्छौ

म भोट दिन्छु

त्यही मैले दिएको

भोटले जितेपछि

तिमी ओछाएको रातो कार्पेटमा बस्छौ

 

म सिङ्गै धरती

ओछ्याएर बस्छु

तिमी सदनमा बसेर

बाघलाई काग बनाउंछौ र

कागलाई बाघ बनाउंछौ

सुकिलो देशमा दाग लगाउंछौ

 

हो त्यसैले त

तिमी नेपाली हुनु

र म नेपाली हुनुमा

फरक रहेछ

 

म स्वाभिमानको सगरमाथा बोक्छु

तिमी राष्ट्रको स्वाभिमान बेच्छौ

तिमी दुस्कर्म बढाउँछौ

तर म लाचार नबनेर

दुस्कर्मको विरोधमा  जुटिरहन्छु

 

तिमी पनि नेपाली हौं

र म पनि नेपाली हुँ

तर तिमी नेपाली हुनु र

म नेपाली हुनुमा फरक रहेछ

 

म अरबमा हड्डी

पिन्छु र पाएको पैसाले

परिवारको भोक मेटाउँछु

बाकसमा लास बनेर

फर्कनु परे तिमीले दिएको

भिसाको गुन तिरेको सम्झन्छु

 

तिमी म र म जस्ता राष्ट्रका सन्तानको

अरबका खाडीमा खसेका

दुखका आँसु र पसिना संगालेर

आफ्नो प्यास मेट्छौ

 

म विदेशमा पसिना बगाउँदा पनि

दिलमा देश सजाउँछु

तिमी देश भित्र रहेर पनि

देश दुखाउँछौ

हो, त्यसैले त

तिमी नेपाली हुनु र

म नेपाली हुनुमा फरक रहेछ

 

म नेपाली भएकोमा गर्व गर्छु

तिमी आफू राक्षस जस्तै हुँदा पनि

इमानदार र सच्चा नेपाली जनतालाई

शासन गर्न पाउँदा गर्व गर्छौ

तिमी चेलिहरूको अस्मिता लुट्छौ

 

म चेलीहरूको सम्मान गर्छु

हो त्यसैले त

तिमी नेपाली हुनु र

म नेपाली हुनुमा फरक रहेछ

 

तिमी न्यायका पालुवा

परक्क निमोठेर, असत्य जिताउने

दुस्साहस गर्छौ

म सत्यको पक्षमा

आवाज बुलन्द पार्न जनता जगाउँछु

 

हो त्यसैले त

तिमी नेपाली हुनु र

म नेपाली हुनुमा फरक रहेछ

तिमी देश लुछेर डकार्छौ

म आफू भोकभोकै पिसिएर

तिमीलाई डकार्न चाहिने परिकार टकार्छु ।

प्रकाशित मिति : १३ आश्विन २०७६ सोमबार ००:००  ७ : १३ बजे