७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

व्यवसायलाई करको दायरामा ल्याउन वाणगंगा नगरपालिका असफल



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको पूर्वी, उत्तरी भेगमा रहेको वाणगंगा विकसित नगरपालिकामा पर्दछ । जिल्लाका अरु स्थानीय तह भन्दा वाणगंगालाई राम्रो नगरपालिकाका रुपमा लिइन्छ । पछिल्ला केही बर्ष यता वाणगंगामा दु्रत रुपमा विकास भैरहेको छ । मानिसहरु अन्यत्रबाट यहाँ बसाईसराई गरी आउनेको चाप नै छ । सामाजिक विकासमा पनि वाणगंगा अग्रपंक्तीमै रहेको छ ।
आन्तरिक राजश्वका हिसाबले पनि वाणगंगा नगरपालिकाले अरु स्थानीय तहले भन्दा बढी नै राजश्व उठाउने गरेको छ । वाणगंगा, कोइली नदी जस्ता चर्चित नदीहरु पनि यहाँ नै छन् । बनजगंलमा पनि वाणगंगा धनि छ । स्थानीय सरकारलाई समृद्ध बनाउने एकमात्र उपाय आन्तरिक राजश्वको बृद्धि हो । तर, वाणगंगा सबै हिसाबमा अगाडि देखिए पनि व्यवासायलाई करको दायरामा ल्याउन असफल सिद्ध भएको छ । नगरपालिका भित्र चारनम्बर जितपुर, गजेहडा, बोडगाउँ, कोइली बनगाई, घेरुवा बनगाई, जिनुवा, कोपवा, ओदारी, बैरिया, पिपरा जस्ता चर्चित बजार छन् । तर, यी बजारमा व्यवासाय गर्दै आएका व्यापारीलाई करको दायरामा ल्याउन नगरपालिका असफल भएको छ ।
चाडपर्व लक्षित बजार अनुगमनका क्रममा यो तथ्य फेला परेको हो । अनुगमनका क्रममा ९० प्रतिशत पसल नगरपालिकामा दर्ता नभएको पाइएको छ । पिपरा, चारनम्बर जीतपुर जस्ता बजारमा एक दर्जन पसल पनि नगरपालिकामा दर्ता छैनन् । अरु बजारको स्थिती त छन् शुन्य प्राय छ । नगरपालिकाका नगर उप–प्रमुख चक्रपाणी अर्यालको नेतृत्वमा गरिएको अनुगमनमा यस्तो तथ्य फेला परेको हो । घटस्थापना देखि नगरपालिका बजार अनुगमनमा तातिएको थियो । शुक्रबारसम्म नगरपालिका बजार अनुगमनमा थियो ।
स्थानीय सरकार बनेको अढाई बर्ष भैसक्दा पनि व्यापारीलाई अझै करको दायरामा ल्याउन नसक्नु विडम्वना भएको सरोकारवाला टिप्पणी गर्छन् । ‘सामान्य किसानबाट कर ल्याउने तर, लाखौंको कारोकार गर्ने व्यापारीसंग कर ल्याउन नसक्ने जनप्रतिनिधिको यो कस्तो काम हो गजेहडाका एक नागरिक अगुवाले मायादेवी अनलाइनसंग भने, यसले जनप्रतिनिधि असफल भएको पृष्टि हुन्छ ।’
अहिलेको सरकारले नागरिकलाई सबैभन्दा बढी कर थपारेको आरोप लाग्ने गरेको छ । अझ केपि शर्मा ओली नेतृत्वको सरकारलाई ‘कर प्रसाद ओली’ राख्नुपर्ने भनाई संघीय संसदमा सांसदहरुले बेला बेला भनाई राखेको सुनिन्छ । स्थानीय सरकार पनि यस विषयमा आलोचित छ । कुखुरा, बाख्राको पनि कर तिर्न कतिपय स्थानीय सरकारका नागरिक बाध्य छन् । तर, देशैभर करको विभिन्न चर्चा परिचर्चा चलिरहदा वाणगंगा नगरपालिकाले नागरिकलाई कर होइन् करको दायरा बढाएर राम्रो कामको सुरुवात गरेको थियो । तर, नगरपालिका करको दायरामा पनि चुकेको देखिन्छ । यसले आन्तरिक राजश्व घाटा पुगेको छ भने समग्र नगरको विकासलाई पछाडि पारेको छ ।
वाणगंगा नगरपालिका व्यवासायी सामु कर उठाउन नराम्रोसंग चुकेको हो । यति मात्र होइन्, नगरपालिकामा घरबहाल कर पनि निकै कम उठ्ने गरेको छ । शहरीकरणमा बृद्धि भएसंगै वाणगंगामा व्यवसाय, वित्तिय संस्था खुल्नेक्रम बढ्दो छ । तर, अधिकांश घरले घरबहाल कर तिर्दैनन् । यसमा पनि नगरपालिका कडाईको साथ प्रस्तुत हुन नसकेको देखिन्छ ।
चाडपर्व लक्षित अनुगमनमा कपिलवस्तुका अरु स्थानीय तहभन्दा सबैभन्दा बढी चनाखो पूर्ण तरिकाले लागेको वाणगंगा नगरपालिकाले यसै बर्ष देखि सबै व्यवसायीलाई करको दायरामा ल्याउन लागेको छ । नगरपालिकाका उप प्रमुख चक्रपाणी अर्यालले यस बर्ष देखि व्यापारीलाई करको दायरामा ल्याइने बताउनुहुन्छ । ‘पहिलो नगर सरकारको अभ्यास आफुहरुले गर्नु पर्दा सबै काम पूरा गर्न नसकिएकै हो तर, अब यस्तो हुँदैन् अर्यालले मायादेवी अनलाइनसंग भन्नुभयो, यसै बर्ष देखि व्यापारीलाई करको दायरामा ल्याएरै छाडिन्छ ।’
चाडपर्वको बेला मात्र बजार अनुगमन हुने अघिपछि नहुने गर्दा उपभोक्ता मारमा पर्दै आएका छन् । संघीयता पूर्वको समयमा जिल्ला प्रशासन कार्यालयले अनुगमनको जिम्मा पाएको थियो तर, अहिले स्थानीय सरकारले आफै बजार अनुगमन गर्नु पर्छ । वाणगंगाले बजार अनुगमनमा तीव्रता देखाएपनि अरु स्थानीय तहले बजार अनुगमन नगरेको पाइएको छ ।
वाणगंगाका माछामासु पसल, खाद्यान्न, औषधि पसल, मिठाई पसल, किराना पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकांश पुल मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ । मापदण्ड विपरित सञ्चालन भएका पसलहरुलाई नगरपालिकाले चिठ्ठि काटेर चेतावनी जारी गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७६ शनिबार ००:००  ५ : ३२ बजे