१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

तिहारको तेस्रो दिनमा आज लक्ष्मीपुजा गरिँदै, कुकुर तिहार पनि आजै



मायादेवी अनलाइन, कपिलवस्तु । 

नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ ।आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रहिआएको छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।।आज साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्छन् ।

 

भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

 

लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै आज कुकुर तिहार पनि परेको छ । मानव समाजसंग कहिल्यै टाढा नभएको एउटा बफादार र शाहसी जीवको रूपमा परिचित छ । आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पूजिने दिन । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसंग अत्यन्त नजिक बफादार जीवमा रहेको छ । ऋगवेदमा स्पष्ट रूपमा ’समरा’को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ । महाभारतमा पनि सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदहारण र सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ । तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६ आइतबार ००:००  ५ : ३८ बजे