मायादेवी अनलाइन, वाणगंगा ।
सदाका बर्षहरुमा झै यस बर्ष पनि वाणगंगा सामुदायिक पुस्तकालयले लक्ष्मी जयन्ती मनाएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका जितपुर चारनम्बरमा रहेको पुस्तकालयको प्राङ्गणमा लक्ष्मी जयन्ती मनाइएको हो ।
महाकवी लक्ष्मी प्रसाद देवकोटाको १११ औं जन्म जयन्ती आइतबार परेको छ । वाणगंगा सामुदायिक पुस्तकालयका अध्यक्ष दिलिप कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी प्रसाद देवकोटाले नेपाली साहित्यमा पुराएको योगदानको चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरपालिकाका शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीले लक्ष्मी प्रसाद देवकोटालाई स्मरण गर्दै देवकोटाले देखाउनुभएको बाटोमा हिड्नुपर्नेमा जोड दिनुभयो । नेपाली साहित्य आकाशमा देवकोटाको नाम अमर रहेको भन्दै कपिलवस्तुमा पनि साहित्यिक गतिविधि बढ्नु राम्रो कुरा भएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका स्रोत व्यक्ति कविराज भण्डारी, प्रगतिशिल लेखक संघ कपिलवस्तुका अध्यक्ष अर्जुन शर, नेपाल साहित्यिक पत्रकार संघका जिल्ला अध्यक्ष दिपक अनुरागी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा यस क्षेत्रका विभिन्न साहित्यकारले देवकोटा प्रति समर्पित आ–आफ्ना रचना सुनाउनुभएको थियो । पुस्तकालयका उपाध्यक्ष दोलक बहादुर पछाईको स्वागत र सचिव धर्मराज घिमिरेको सञ्चालन रहेको थियो ।







प्रतिक्रिया