१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

समयअगावै करिब १ किलोमिटर लामो पुल निर्माण सकियो, दाङका जनतामा खुसी



दाङ । नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ । करिब एक अर्ब रुपैयाँको लगानीमा ठेक्काको ४ महिनाअघि नै पुलको निर्माण कार्य सकिएको हो । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको दाङको राप्ती नदीमा पर्ने सो पुलले राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवालाई जोड्ने छ । समयमै पुल निर्माणको काम सकिएपछि जनता खुसी भएका छन् ।
अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२–७३ देखि निर्माणकार्य सुरु गरेको हो । आर्थिक वर्ष २०७६–७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यस अगावै निर्माणको काम पूरा भएको पुल निर्माणको योजना कार्यान्वयन गराउने सरकारी निकाय पुल योजना सेक्टर नम्बर ३ का योजनाप्रमुख सुनिलबाबु पन्तले बताए ।
अहिले पुल निर्माण पूरा भएको र त्यहाँ पुग्ने सडक निर्माणको काम भइरहेको उनले बताए । उक्त पुलको आउँदो माघ महिनामा उद्घाटन हुनेसमेत उनको भनाई छ । उक्त पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारीको क्षेत्रबाट वारी आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था छ, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६ बुधबार ००:००  १० : १६ बजे