२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

सांसद पन्थी र छिचौँ नगरपालिकाका उप प्रमुख क्वाङ बीच भेटवार्ता



मायादेवी अनलाइन, वाणगंगा । 
भगिनी सम्बन्ध स्थापित गर्नका लागि कपिलवस्तुको वाणगंगा आएका चिनको छिचौँ नगरपालिकाका उप प्रमुख फु चिन क्वाङ र प्रदेश नं. ५ का प्रदेश सांसद विष्णु पन्थी बीच भेटवार्ता भएको छ । वाणगंगाको पीस हिमालय रिर्सोटमा भएको भेटवार्तामा उप प्रमुख क्वाङ र सांसद पन्थी बीच दुई पक्षका विविध विषयमा कुराकानी भएको हो ।
भेट वार्तामा सांसद पन्थीले वाणगंगा कृषि र पर्यटनको क्षेत्रमा सम्भावनायुक्त नगर भएकोले यसमा सघाउन आग्रह गर्नुभयो । चिन आर्थिक समृद्धिमा अगाडी बढेको चर्चा गर्दै नेपालले पनि राजनीति स्थायित्व पाएकोले ढुक्क भएर लगानी बढाउन आग्रह गर्नुभयो । कृषि र पर्यटनलाई केन्द्रमा राखेर वाणगंगाको विकास अगाडी बढेको भन्दै यसमा छिचौं नगरपालिकाको साथ हुनेमा आफु आशाबादी भएको बताउनुभयो ।
वाणगंगा र छिचौं नगरपालिका बीच भगिनी सम्बन्ध कायम भएपछि विभिन्न क्षेत्रमा सहकार्य गरेर लाभ लिन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । “दुई देशका दुई नगर एक परिवार भएका छौं सांसद पन्थीले भन्नुभयो, यसको दुवै पक्षले भरपुर उपयोग गरेर नगरबासीले लाभ र विकास निर्माणमा जोड दिनुपर्छ ।” बुद्धले २९ बर्ष विताएको भूमि कपिलवस्तुको वाणगंगासंग छिचौँ नगरले भगिनी सम्बन्ध बनाउनु छिचौँका लागि भाग्यमानी कुरा भएको बताउनुभयो ।
भेटमा उप प्रमुख क्वाङले छिचौँ यातायात, पूर्वाधार, प्रविधिमा अगाडी रहेको भन्दै एक अर्काको आवश्यता बुझेर लगानी र सहकार्य गर्न सहयोग पुग्ने बताउनुभयो । भगिनी सम्बन्धले नेपाल, चिन सम्बन्धलाई गहिरोसंग बुझ्ने र एक अर्कालाई सहयोग गर्ने वातारण मिल्ने बताउनुभयो । उप-प्रमुख क्वाङले दुई देश बीचको भगिनी सम्बन्ध कायम गर्न प्रदेश सांसद विष्णु पन्थीले अथक प्रयास गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  ७ : ११ बजे