२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मन्त्री बराल भन्छन्, सङ्घीयताले नै जनताको मुख्य माग पूरा गर्छ



बिष्णु कुमार आले, अर्घाखाँची ।
५ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले मुलुकमा राजनैतिक स्थिरता भएको भन्दै सङ्घीयताले नै जनताको मुख्य माग पूरा गर्ने बताउनुभयो ।
मन्त्री बरालले एक प्रदेश एक प्राबिधिक शिक्षालयको अवधारणा कार्यन्वयन हुँदै गर्दा स्वास्थ्य सेवाका लागि पायक पर्ने स्थानमा एक स्थानीय तह एक अस्पताल आवश्यकता महसुस गरि सो अनुसार कामको थालनी भएको बताउनुभयो । अर्घाखाँचीको पाणिनी गाउँपालिका ७ अड्गुरीमा रहेको अड्गुरी स्वास्थ चौकीको नवनिर्मित भवनको आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण तथा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाले बर्थिङ्ग सेन्टर उपकरण र आवश्यक औषधिहरु उपलब्ध गराउन आफु लागि पर्ने बताउनुभयो । सङ्घीय कार्यान्वयन इकाई रुपन्देहीको आर्थिक तथा प्राबिधिक सहयोग, अर्घाखाँची इन्जिनियर्स एण्ड बिल्डर्स प्रा.लि.ले २ करोड १२ लाखमा ठेक्का लिई भवन निर्माण गरेको स्वास्थ चौकी इन्चार्ज पुनाराम भुसालले जानकारी दिनुभयो ।
कार्यक्रममा पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले यो बर्ष पालिकाले २ वटा एम्बुलेन्स खरिद गर्ने बताउनुभयो । उपाध्यक्ष लक्ष्मी गौतम वडा नं. ५ का अध्यक्ष जिबलाल घिमिरे, पाणिनी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक शेषकान्त घिमिरे, धातिवाङ्ग स्वास्थ्य चौकिका प्रमुख मित्रदेव पौडेलले मन्तब्य राख्नुभएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७६ आइतबार ००:००  ७ : ३४ बजे