२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

अर्घाखाँचीको मालारानी ३ मा ७३.८९ प्रतिशत मत खस्यो



बिष्णु कुमार आले, अर्घाखाँची ।  

अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।   वडा अध्यक्ष पदको लागि शनिबार भएको उपनिर्वाचनमा कुल ३ हजार ११ मतदाता संख्यामा २२ सय २५ मत खसेको छ ।  मतदाताको अनुपातमा ७३.८९ प्रतिशत मत खसेको छ ।

आदर्श माबि खनदह मतदान (क) केन्द्रमा २ सय ८६ पुरूष, ३ सय ३७ महिला गरी ६ सय २३ (ख) केन्द्रमा २ सय ४ पुरूष, ३ सय ४२ महिला गरी ५ सय ४६ गरी कुल ११ सय ६९ मत खसेको छ । जसको अनुपातमा ७२.१६ प्रतिशत मत खसेको हो ।

यसै गरी सुन्दरा आधारभुत बिद्यालय सावडाँडाको (क) केन्द्रमा २ सय ७४ पुरूष, २ सय ६१ महिला गरी ५ सय ३६ (ख) केन्द्रमा २ सय ३७ पुरूष, २ सय ८४ महिला गरि ५ सय २१ गरी कुल १ हजार ५६ मत खसेको थियो । जसको कुल मतदाताको अनुपातमा ७५.९१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजे सम्म मतदान कार्य निकै शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिए ।

अहिले चार वटा मतदान केन्द्रबाट मतपेटिका खनदहमा रहेको सामुदायिक भवनमा ल्याउनेक्रम जारी छ । जिल्ला निर्वाचन कार्यालय अधिकृत लाल प्रसाद भुसाल शर्माका अनुसार तत्काल सर्बपक्षिय बैठक बसेर मतगणना कार्य सुरू गरिने बताए । वडाध्यक्ष जीवन कुमार चौवानको ०७४ साल पौष १३ गते ५६ बर्षको उमेरमा रूपन्देहीको रानीबगीयाँमा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएपछि रिक्त रहेको वडा अध्यक्षको पदपुर्ति गर्न उपनिर्वाचन भएको हो ।

जसको लागि ४ जना मतदान अधिकृत र अन्य सहयोगी गरि १२ जना कर्मचारी मतदान स्थलमा खटिएका थिए । मतदान केन्द्रको सुरक्षाको लागि नेपाल प्रहरी १७६ जना, शसस्त्र प्रहरी ११५ र नेपाली सेना २९ जना खटिएको  प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताए । वडा अध्यक्ष पदको उम्मेदवारमा नेकपाले यमलाल खनाल, नेपाली कांग्रेसले शोभाखर खनाल र  राप्रपा नेपालले रणबहादुर खनाललाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  ७ : १० बजे