६ असार २०८३, शनिबार | Sat Jun 20 2026

मुग्लिन-नारायणघाट सडकखण्ड शुक्रबारदेखि दैनिक चार घण्टा बन्द हुने



काठमाडौं ।
मुग्लिन नारायणघाट सडकखण्ड शुक्रबारदेखि दुई हप्तासम्म दैनिक चार घण्टा बन्द हुने भएको छ। सडक पहिरो रोकथामको काम आठ ठाउँमा बाँकी रहेको हुँदा दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गर्न लागेको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ।
नारायणघाटतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनलाई पन्ध्र किलो बजारमा रोकिनेछ भने मालवाहक सवारीसाधनलाई दासढुंगामा रोकिनेछ।
त्यस्तै, मुग्लिनतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनमा काठमाडौंबाट छिर्नेलाई मुग्लिन बजारमा रोकिनेछ र पोखराबाट आउनेलाई बेनीटारमा रोकिनेछ।
मालवाहक सवारीसाधनको हकमा भने काठमाडौंबाट मुग्लिन छिर्नेलाई लेवाटारमा र पोखराबाट मुग्लिनतर्फ आउनेलाई आँबुखैरेनीमा रोकिनेछ। उक्त सडकखण्डमा विश्व बैंकको ऋण सहयोगमा डबल लेनमा स्तरोन्नतिको काम भइसकेको छ।
आयोजनाले पहिरो रोकथामको काम गर्नका लागि सुरक्षाको दृष्टिकोणले सवारीसाधन रोक्नुपर्ने बताएको छ।

प्रकाशित मिति : २५ मंसिर २०७६ बुधबार ००:००  १ : ३१ बजे