मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नेपाल सरकारले लिएको नेपाल भ्रमण बर्ष २०२० लाई सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल भ्रमणमा आउने हरेक पर्यटकलाई न्यायो स्वागत गर्नुपर्नेमा जोड दिदै नगर प्रमुख श्रेष्ठले तिलौराकोट घुम्न आउने पर्यटकलाई बुद्धभूमि घुमाउने वातावरण मिलाउन नगरबासीलाई आग्रह गर्नुभयो । नगर स्तरीय पर्यटन प्रबर्धन विकास समिति गठन कार्यक्रममा बोल्दै उहाँले नगरभित्र रहेका ऐतिहासिक, पौराणिक र पुरातात्विकस्थलको विकासका लागि नगरले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । यहाँ घुम्न आउने पाहुनालाई न्यानो स्वागत गर्न सबै नगरबासीलाई उहाँले आग्रह गर्नुभयो ।
पुराना बामपन्थी नेता इन्द्रमणी पौडेलले नगर भित्र विदेशी तथा स्वदेशी पर्यटकलाई भित्त्राउन सके पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । नेपाल भ्रमण बर्षलाई सबै मिलेर सफल पार्नुपर्ने भन्दै नगर सरकारले पनि आ–आफ्नो क्षेत्रमा पर्यटक भित्त्राउने गरी काम गर्न गर्नुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पिताम्बर खनालले तिलौराकोट हुँदै बुद्धभूमि प्रवेश गर्ने स्थानमा पर्यटकका लागि स्वागत गेट बनाउन सुझाव दिनुभयो । पर्यटकका लागि होटलको राम्रो व्यवस्था हुनुपर्ने भन्दै गोरुसिंगेमा रहेका होटललाई थप व्यवस्थित पार्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा नेता रुपेश श्रेष्ठले तिलौराकोटमा आउने पर्यटकलाई बुद्धभूमि भित्त्राउन कसरी सकिन्छ भन्नेबारे योजना बनाउनुपर्ने बताउनुभयो । नगरभित्र रहेका पर्यटकीय स्थलको सुन्दरीकरणमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । अर्घाखाँचीको सुपा देउराली र तिलौराकोट लगायतका बुद्धस्थलको अवलोकनका लागि कपिलवस्तु भित्त्रने पर्यटकलाई यहाँ बास बस्ने ठाउँको मात्र प्रर्वन्ध गर्न सके राम्रो हुने तर्क गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पाण्डेले नगर सरकारले पनि आफ्नो क्षेत्रभित्र रहेका पर्यटकीय स्थलको प्रचार–प्रसार गरी पर्यटक भित्त्राउने गरी योजना बनाउनुपर्ने बताउनुभयो । नेपाल भ्रमण बर्षमा आउने पर्यटकको रोजाई काठमाण्डौ, पोखरा र लुम्बिनी हुने भन्दै लुम्बिनी घुम्न आउने पर्यटकलाई कपिलवस्तु ल्याउने वातावरण मिलाउनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा समाजबादी पार्टीका केन्द्रिय नेता विष्णुहरि शर्मा, बुद्धभूमि उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुसाल, राप्रपा संयुक्तका नेता तीर्थ बहादुर थापा, नगरका प्रशासकीय अधिकृत राजन कुमार पोख्रेल लगायतले नेपाल भ्रमण बर्ष सफल पार्न सबै आ आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
११ पुस २०७६ शुक्रबार ००:००
0
Shares






प्रतिक्रिया