१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रदेश ५ मै गर्भपतन गराउनेमा कपिलवस्तु पहिलो स्थानमाः आइसीपिडी



मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश ५ मा गर्भपतन गराउने जिल्लामा कपिलवस्तु पहिलो स्थानमा रहेको देखिएको छ । प्रदेश ५ का १२ जिल्लामध्ये कपिलवस्तु यौन तथा प्रजनन शिक्षाको कमि भएको जिल्लाको अग्र स्थानमा रहेको संयुक्त राष्ट्र संघीय जनसंख्या कोष ९युएनएफपिए० को एक तथ्यांकले देखाएको हो । (युएनएफपिए) र सिद्धार्थ सामाजिक विकास संस्थाले कपिलवस्तुको बाणगंगा १ वैरियामा पत्रकारहरुसंग गरेको प्रदेश स्तरीय जनसंख्या र विकास विषयक छलफल कार्यक्रममा एक कार्यपत्र प्रस्तुत गर्दै युएनएफपिएका क्षेत्रिय कार्यक्रम संयोजक राम थापाले कपिलवस्तु गर्भपतनमा अग्रस्थानमा रहेको आँकडा प्रस्तुत गर्नुभयो ।
प्रदेशका अन्य जिल्लाहरुमा भन्दा कपिलवस्तु गर्भपतन गराउनेको संख्या डरलाग्दो गरी बढीरहेको आफूहरुले पाएको उहाको भनाई छ । प्रदेश भरीका १२ जिल्लाको यौन तथा प्रजनन सम्बन्धि काम गर्ने शिलशिलामा आफूहरुले यो पाएको थापाले बताउनु भयो । यौन र प्रजननको शिक्षामा कपिलवस्तु अन्य जिल्लाभन्दा निकै पछि रहेको भन्दै उहाँले भन्नुभयो– “यहाँ अझै पनि बाल तथा वहुविवाह गर्ने, गर्भपतन गराउने, परिवार नियोजनका साधन प्रयोग कम गर्ने, यौनलाई गलत अर्थले हेर्ने लगायतका समस्या धेरै छन् ।” जान्ने बुझ्ने ब्यक्तिले पनि यो काम गरिरहेका छन् । पछिल्लो समयमा धेरै महिला तथा युवतीहरुले गर्भपतनलाई सामान्य रुपमा लिँदा समस्या भएको छ, उहाँले भन्नुभयो । घर, विद्यालय तथा समाजमा यौन र प्रजननलाई बुझ्ने क्षमतामा कमी हुँदा यस्ता समस्या आएको पनि उहाँले बताउनु भएको छ ।
साथै युएनएफपिएको तथ्यांकमा नेपालमा गुड्ने सार्वजनिक यातायातका सवारी साधनमा ८० प्रतिशत महिलामा हिंसा हुने गरेको देखिएको पनि उहाँले बताउनु भयो । सोही कार्यक्रम मै मूलुकको कुनै पनि स्थानमा चल्ने सवारी साधनमा कुनै न कुनै प्रकारले महिला हिंसा हुने गरेको बताउनु भयो । सार्वजनिक सवारी साधन जस्तै बस, जिप, माइक्रो बस आदिजस्ता अधिकांश सवारी साधनमा महिलामाथि बिभिन्न तरिकाले हिंसा हुने गरेको उहाँको भनाई छ ।
सार्वजनिक सवारीमा चढेका महिलालाई घचेट्ने, ठेल्ने, हात तथा गोडामा नजानिँदो स्पर्श गर्न खोज्ने, महिलाका संवेदशनशिल अंगमा वक्रदृष्टिले हेर्ने जस्ता गतिविधि भइरहेको आफूहरुको तथ्यांकमा देखिएको बताउँदै यो राष्ट्रको लागि प्रमुख चुनौति रहेको बताउनु भयो । उहाँले यो समस्या एक ठाउँको मात्र नभएर देशभरी कै रहेको बताउँदै शिक्षित भएकाहर पनि यसबाट अछुतो नभएको उहाँको भनाई छ ।
लामो समयसम्म नेपालको जनसंख्या र विकासको मोडलबारे आफूले अध्ययन गर्ने मौका पाएको उल्लेख गर्दै उहाँले ६६ प्रतिशत महिलाले आफूहरुले महिला हिंसा भए पनि बाहिर नभनि सहेर वस्ने परिपाटीले गर्दा पनि हिंसाका घटनाहरुमा न्युनिकरण हुन नसकेको बताउनुभयो । जनसंख्या र विकास सम्बन्धि भर्खरै सम्पन्न नैरवी अन्र्तराष्ट्रिय सम्मेलन (आइसीपिडी) ले राखेका राष्ट्रिय प्रतिवद्धता र प्राथमिकतामा पनि यो कुरा उल्लेख गरिएको उहाँले बताउनु भयो । विश्वका मुलुकहरुमध्ये नेपाल महिला हिंसा हुने, प्रजनन सम्बन्धि ज्ञानको कमि, मातृ तथा जन्म मृत्युदर बढी भएको, यौन शिक्षाको कमि भएको मुलकको रुपमा रहेकोले अब यसमा सचेतता अपनाउन जरुरी रहेको उहाँको भनाई छ ।
उहाँले नेपालमा जनसंख्याको वृद्धिदरको अनुपातमा विकास हुन नसकेको पनि तथ्यांक प्रस्तुत गर्नुभयो । यसो हुनुको प्रमुख कारण यौन तथा प्रजनन शिक्षाको कमी भएको थापाको भनाई छ । उहाँले भन्नुभयो “जनसंख्याको अनुपातमा विकास भएन भनेर कतिपय देशमा जनसंख्या नियन्त्रण गर्ने अभियान पनि चलेको देखिन्छ तर जनसंख्या नियन्त्रण गर्ने विषय होइन ब्यवस्थापन गर्ने विषय हो । यो महिलाको प्रजनन अधिकार भएकाले यसलाई कसैले रोकेर रोकिन्न । बिभिन्न तरिकाबाट हामी यसको ब्यवस्थापनमा लाग्नु पर्दछ । जापान, चाइना लगायतका देशमा यसले समस्या निम्ताइरहेको छ । भोली हाम्रो देशमा पनि त्यो समस्या नआउला भन्न सकिन्न ।”
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका सभापति नारायण खनाल, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी, कपिलवस्तु नगरपालिकाकी उप-प्रमुख लक्ष्मी गुप्ता लगायतले बोल्दै अब स्थानीय सरकारले पनि यौन तथा प्रजनन जनचेतनालाई प्राथमिकता दिएर कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेका बताउनु भयो ।
कार्यक्रममा प्रस्तुत भएको जनसंख्या र विकास विषयक कार्यपत्र स्थानीय तहको लागि पनि निकै महत्वपूर्ण रहेको बताउँदै यौन र प्रजनन शिक्षा अभिवृद्धिमा हरेक नगरपालिका र गाउँपालिकाहरु लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्लाभरीका पत्रकारहरुको सहभागिता रहेको थियो ।
सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता तथा उपाध्यक्ष सूर्य कुमारी शाहीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष पोम नारायण पौडेलले हालै विदेशमा भएको सम्मेलनमा जनसंख्या र विकासको लागि नेपालले गरेको प्रतिवद्धता र प्राथमिकता विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला समन्वय समिति कपिलवस्तुका सभापति नारायण खनाल

 

कार्यक्रममा बोल्दै शिवराज नगर प्रमुख नेत्रराज अधिकारी ।
कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिकाकी उप प्रमुख लक्ष्मी गुप्ता ।
कार्यक्रमको बारेमा थप सहजिकरण गर्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोमनारायण पौडेल ।
कार्यक्रमको समापन गर्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य ।

प्रकाशित मिति : १५ पुस २०७६ मंगलबार ००:००  ८ : ३४ बजे