६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

होटल तथा रेष्टुरेन्ट व्यवसायी भन्छन्, ‘राज्यले करमाथि करको बोझ थप्यो’



मायादेवी अनलाइन, वाणगंगा ।
होटल तथा रेष्टुरेन्ट व्यवसायीले राज्यले आफुहरुलाई चर्को कर तिर्न बाध्य पारेको गुनासो गरेका छन । बर्षौ देखि पानबाट सञ्चालन हुँदै आएका होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई भ्याटमा सञ्चालन गर्नुपर्ने प्रवधान राखिएको भन्दै व्यवसायीले गुनासो गरे ।
होटल तथा रेष्टुरेन्ट व्यवासयी संघ कपिलवस्तुले आज वाणगंगाको खारखानीमा राखेको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताले उक्त गुनासो गरेका हुन् ।
प्रदेश सांसद विष्णु पन्थीले सरकार उद्योगी, व्यवसायीको पक्षमै रहेको जिकिर गर्नुभयो । सरकारले होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई उद्योगको रुपमा हेरेको भन्दै करको विषयमा अनावश्यक नबुज्न आग्रह गर्नुभयो । कपिलवस्तु पर्यटकीय स्थलमा धनि रहेपनि ठूला ठूला होटल तथा रेष्टुरेन्टमा लगानी नभएको भन्दै यस तर्फ ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो । जगदीशपुर ताल यस क्षेत्रको सम्भावना बोकेको पर्यटकीय स्थल रहेको भन्दै यहाँ होटल तथा रेष्टुरेन्टमा लगानी बढाउन व्यवसायीलाई आग्रह गर्नुभयो ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका केन्द्रिय सदस्य ढुण्डीराज अधिकारीले राज्यले आफुहरुलाई अनाश्यक करको भार थप्ने काम गरेको गुनासो गर्नुभयो । राज्यको दोहोरो, तेहेरो करले आफुहरुको व्यवसाय मर्कामा परेको भन्दै आफुहरुको समस्या बुझिदिन अधिकारीले आग्रह गर्नुभयो । पर्यटन प्रवर्धनमा होटल तथा रेष्टुरेन्ट व्यवसायीको महत्वपूर्ण भूमिका रहने भन्दै यस विषयमा व्यवसायीलाई ध्यान दिन उहाले आग्रह गर्नुभयो ।
नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाईले होटल तथा रेष्टुरेन्ट व्यवसायीले गुणस्तरीय खानामा ध्यान दिन अनुरोध गर्नुभयो । पर्यटन बर्ष २०२० सफल पार्न होटल तथा रेष्टुरेन्ट व्यवयासीको महत्वपूर्ण भूमिका रहने भन्दै यस विषयमा ध्यान दिनुपर्नेमा पछाईले जोड दिनुभयो । राज्यले करको भार बोकाउने मात्र नभई सुविधा पनि दिनुपर्नेमा उहाको जोड थियो ।
कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसालले राज्यले होटल तथा रेष्टुरेन्ट व्यवसायीमाथि थपेको करमाथि आफुहरुले पनि आवाज उठाईरहेको बताउनुभयो । उद्योग वाणिज्य संघ होटल व्यवसायीको पक्षमा रहेको भन्दै ढुक्क भएर आफ्ना व्यवसायीक माग राख्ने भुसालले आग्रह गर्नुभयो ।
होटल तथा रेष्टुरेन्ट व्यवासयी संघ कपिलवस्तुका अध्यक्ष गोपाल बहादुर खत्रीले कपिलवस्तुमा संघलाई व्यवस्थित बनाउने काम भैरहेको जानकारी दिनुभयो । संघका दर्जनौं व्यवसायी आवद्ध रहेको भन्दै उहाले बाहिर रहेका व्यवसायीलाई पनि संघमा आवद्ध हुन आग्रह गर्नुभयो । राज्यले व्यवसायीमाथि लगाएको चर्को करमा सन्दर्भमा अझै शसक्क्त आवाज उठाउनुपर्ने उहाले बताउनुभयो ।
संघका महासचिव रविन्द्र पौडेलको सञ्चालनमा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पर्यटन बर्ष २०२० लाई सफल पार्न कपिलवस्तुमा सडक खाना महोत्सव सञ्चालन गनुपर्नेमा छलफल भएको थियो । कार्यकारी संघका पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका अधिकारीलाई सम्मानपत्रले सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : १५ पुस २०७६ मंगलबार ००:००  ६ : ४८ बजे