काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत संस्थापन इतर पक्षको जिल्ला सभापतिहरुको भेला पार्टी कार्यालय सानेपामा सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट बनेका नेताहरुले जिल्ला सभापतिहरुको भेला बोलाएका हुन्। वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंह पक्षमा रहेका नेताहरुले बोलाएको भेलामा सहभागी हुन ४० जिल्लाका जिल्ला सभापतिहरू आइसकेका र केही आउने क्रम जारी रहेको बताइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको भेलामा केन्द्रीय समिति बैठकका निर्णयहरुमा परामर्श गरिने वरिष्ठ नेता पौडेल निकट केन्द्रीय सदस्य हृदयराम थानीले बताए। उनले जिल्ला सभापतिहरुसँग परामर्श गरेर पार्टी सभापति देउवालाई निर्णय सच्याउन दबाब दिन खोजिएको उल्लेख गरे। पटकपटक केन्द्रीय कार्य समिति बैठक बहिष्कार गर्दै आएको संस्थापन इतर पक्षले सभापतिको दबाबमा गरिएका सबै निर्णय फिर्ता हुनुपर्ने प्रमुख सर्त राखेको छ। नेता थानीले विधानविपरीत थप गरिएका विभागहरुको खारेजी, महाधिवेशन कार्यतालिका संशोधन लगायतका प्रमुख मुद्दामा सभापतिहरुको भेलामा परामर्श गरिने बताए। उनका अनुसार सबै जिल्लाका सभापतिहरुलाई भेलामा बोलाइएको छ। सभापतिहरुले दिने सुझावका आधारमा आगामी कदम चाल्ने तयारी संस्थापन इतर पक्षको छ। गत पुस ११ गते बसेको केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन २०७७ को फागुन महिनामा गर्ने निर्णय गरेको छ भने पार्टीका विभागहरु ४१ बाट बढाएर ४७ बनाउने लगायतका निर्णय गरेको छ। इतर पक्षले यी निर्णय विधान विपरीत भएको बताउँदै आएको छ।
२१ पुस २०७६ सोमबार ००:००
0
Shares










प्रतिक्रिया