१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

मुलक समृद्धिको यात्रामाः मुख्यमन्त्री पोख्रेल



दाङ ।
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलक समृद्धिको यात्रामा अघि बढेको बताएका छन्। प्रदेश सरकारले आफ्नो स्थापना दिवसका अवसरमा दाङको बेलझुण्डीमा आयोजना गरेको प्रदेश एक्स्पोको समापन समारोहलाई सम्बोधन गर्दै उनले जनताको साथ विना मुलुकलाई समृद्ध बनाउन नसकिने भन्दै मुलुकलाई समृद्ध बनाउन जनताले पनि साथ दिनुपर्ने बताए।
मुख्यमन्त्री पोखरेलले प्रदेश एक्स्पोले नागरिकलाई स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग जोड्न तथा सरकार र नागरिकबीच कडीका रुपमा काम गर्न सफल भएको बताए। त्यस्तै प्रदेशको पहिचान, संस्कृति र सम्भावनालाई पनि एक्स्पोले झल्काएको उनले बताए। उनले अहिले स्टलमा प्रदेशभित्र उत्पादन हुने कृषिजन्य वस्तु राखिएको बताउँदै ती कृषिजन्य वस्तु बजारीकरणमा समस्या रहेपनि त्यो समस्या समाधान गर्नतर्फ प्रदेश सरकार तत्पर रहेको बताए।

शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा प्रदेशका सबै जिल्लाका विशेषता तथा पहिचानसँग जोडिएका सामग्री राखिएको थिए। एक्स्पोमा आज गन्धर्र्व समुदायको प्रस्तुती राखिएको थियो। प्रदेश नं ५ का करिब ७० गन्धर्वले आफ्नो पहिचानसहित सारङ्गीको धुन प्रस्तुत गरेका थिए।
दिनभर थारु नाच, थाल नाच, झुमा नाच, लठ्ठी नाच, कौडा तथा टप्पा नाच प्रस्तुत गरिएको थियो। साथै विभिन्न सचेतनामूलक नाटक पनि प्रस्तुत गरिएको थियो। प्रदेशका विभिन्न मन्त्रालयले आफ्नो सेवाका बारेमा जानकारी गराएका थिए। प्रदेश सरकारका मन्त्रालयले गरेका दुईवर्षे कामको नागरिकलाई प्रत्यक्ष जानकारी, जिल्लामा उत्पादित वस्तु र सेवाका बारेमा एक्स्पोमा सहभागीले एकै थलोबाट सबै जानकारी र सेवा दिइएको थियो।

प्रकाशित मिति : १२ फाल्गुन २०७६ सोमबार ००:००  ८ : १२ बजे