२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

भीम रावललाई धनगढी विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा रोक



धनगढी । नेकपाका नेता भीम रावललाई धनगढी विमानस्थलको विशिष्ट कक्षमा जान नदिएको घटनाको अहिले चर्चा भइरहेको छ। कतिपयले राष्ट्रपतिको सुरक्षाका कारण जान नदिनु सामान्य भनेका छन् भने कतिपयले सरकारको निर्देशनमा उनलाई प्रवेशमा रोक लगाएको बताएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले आफूलाई धनगढी विमानस्थलको विशिष्ट कक्षमा जान नदिएको भन्दै पत्रकार सम्मेलनमा आक्रोश पोखेपछि कैलालीको सुरक्षा निकायले त्यस घटनाको अध्ययन गरिरहेको दावी गरेको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले भने, ‘केही दिनयता राष्ट्रपति सुदूरपश्चिममै रहनुभएको र शनिबार त्यसै समयमा काठमाडौँ फर्किने कार्यक्रम थियो। हामी त्यसैमा व्यस्त थियौँ। त्यसैबेला पूर्वउपप्रधानमन्त्री रावल पनि फर्किनुभएको रहेछ। कम्युनिकेशनमा केही समस्या भएको रहेछ। त्यसबारे अध्ययन गर्दैछौँ।’

पूर्व उपप्रधानमन्त्री रावल धनगढी विमानस्थल पुग्दा राष्ट्रपति विद्यादेबी भण्डारी धनगढीबाट विमानस्थलका लागि बाटोमा थिइन्। कैलालीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत राष्ट्रपतिको कारगेटमा रहेका थिए। राष्ट्रपतिको सुरक्षाका लागि शनिबार बिहान ८ बजेदेखि नै धनगढी विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

प्रमुख जिल्ला अधिकारी बोहोराले भने, ‘पूर्व उपप्रधानमन्त्री रावल एयरपोर्ट झर्ने वित्तिकै प्रहरीको एयरपोर्ट इन्चार्जले रिसिभ गरेर विशिष्ट कक्षतर्फ ल्याएको र राष्ट्रपतिको सुरक्षाका लागि काठमाडौँबाटै आएको नेपाली सेनाको टोलीका प्रमुखलाई परिचय गराएको तर उनले माथिको आदेश भन्दै विशिष्ट कक्ष जान नमिल्ने भन्दै बाहिरबाटै पठाएको जानकारी एसपीले मलाई दिएका छन्।’

सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री, रक्षामन्त्रीसमेत भइसकेका भीम रावल अरुबेला विशिष्ट कक्षमा गएर पत्रकार भेटघाट समेत गर्ने गर्दथे तर शनिबार उनलाई विशिष्ट कक्षमा जान दिइएन। त्यहाँ जान नदिएपछि तत्काल धनगढीस्थित नेकपाको प्रदेश कार्यालयमा पुगेर पत्रकार सम्मेलन गरेका रावलले बिना जानकारी एकाएक विशिष्ट कक्षमा जान नदिएकोप्रति आक्रोश पोखे।

पत्रकार सम्मेलनमा नेता रावलले भने, ‘पछि सोधखोज गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका कारण आफूलाई विशिष्ट कक्षमा जान नदिइएको थाहा पाँए तर त्यसका बारेमा मलाई पहिले नै भन्नु पर्दथ्यो।’

‘आजै राष्ट्रपति फर्किने कार्यक्रम रहेछ। यसबारे मलाई प्रशासन वा पार्टी कतैबाट पनि जानकारी थिएन’, उनले भने, ‘विमानस्थलको विशिष्ट कक्षमा सुरक्षा निकायले रोक्यो। राष्ट्रपतिको भ्रमणको सिलसिलामा सुरक्षा अध्ययन गरेर रोकेको हुनसक्छ ती कुरा म बुझ्दछु तर त्यसबारे पूर्व जानकारी गराइएको भए हुन्थ्यो।’

‘कसको इन्टेन्सन के हो मलाई थाहा भएन। त्यसतर्फ जान म चाहदैन’, पत्रकार सम्मेलनमा उनले भने, ‘आज मैले विमानस्थलमा त्यो घटना व्यहोर्नुमा सेनाका व्यक्तिको दोष छैन्। उहाँहरुले माथीको आदेश पालना गर्ने हो। सबैलाई रोक्ने भए पूर्व जानकारी भएन। मलाई ट्रली गुडाउने ठाउँबाट बाहिर जान भनियो।’देश संचारबाट लिएका हौँ । ट्रली भित्रिने ठाउँबाट रावल बाहिर आएका थिए।

राष्ट्रपतिको सुरक्षाको व्यवस्थाको बारेमा पूर्व जानकारी नदिएको र विमानस्थलको विशिष्ट कक्षमा अपमान भएको उनको दुःखेसो छ। उनले राष्ट्रपतिको सुरक्षाको बारेमा आफूलाई जानकारी नभएको बताए। उनी सोमबार हुने सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको तयारीका लागि धनगढी आएका हुन्।

प्रकाशित मिति : १८ फाल्गुन २०७६ आइतबार ००:००  ६ : १८ बजे