मायादेवी अनलाइन, कपिलवस्तु ।
आफूले राखेका मागको सरकारले बेवास्ता गरेको भन्दै थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले गरेको दुई दिने हडतालले जनजीवन प्रभावित भएको छ । आज र भोलीको लागि गरिएको हड्तालको पहिलो दिन आज कैलाली र कञ्चनपुरमा जनजीवन प्रभावित बनेको हो ।आमहडतालका क्रममा कैलाली र कञ्चनपुरमा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था, सवारीसाधान, ढुवानीका साधन पूर्णरुपमा बन्द रहेका छन् । तर, अत्यावश्यक सवारीसाधनहरु दमकल, एम्बुलेन्स, शववहान, सुरक्षा निकायका सवारी साधन, दुध बोक्ने वहान, औषधि बोक्ने वहान, रेडक्रस, मानवअधिकारकर्मी, पत्रकार, पर्यटक र कूटनीतिक नियोगका सावारी साधान निर्वाध रुपमा सञ्चालन हुन पाउने मोर्चाले जनाएको छ ।
यता कपिलवस्तु, रुपन्देही र नवलपरासीमा बन्द छैन । थारु कल्याणकारिणी सभाका नेताले हल्लाको पछि नलाग्न सबैलई आग्रह गरेका छन् । बन्दको हल्लाका कारण कपिलवस्तुमा हिजोको दिनमा भन्दा आज चहल पहल कम छ । थारु कल्याणकारिणी सभा कपिलवस्तुले ढुक्क भएर उद्योगधन्दा, कलकारखाना, विद्यालय र बजार चलाउन अनुरोध गरेको छ । आज र भोली नै यहाँ बन्द नभएको बताइएको छ ।
संघर्षका विभिन्न कार्यक्रम गर्दै आए पनि सरकारले माग पूरा नगरेपछि दोस्रो चरणको कार्यक्रमअन्तर्गत आमहडताल घोषणा गरिएको मोर्चाले जनाएको छ। पुस २२ गते नेपाल सरकारसँग १४ बुँदे माग राखी पुस मसान्तसम्मको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा पनि मागप्रति सरकार संवेदनशील र सकारात्मक हुन नसकेकाले आमहडतालको घोषणा गर्नु परेको मोर्चाको केन्द्रीय संयोजन समितिका महासचिव तुुलसी थारुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया