दाङ ।
दाङमा यसपालि परेको पानिले दाङमा करोडौँ मूल्य बराबरको इँट्टामा क्षति पुर्याएको छ । गत शुक्रबार राति र त्यसअघि विभिन्न समयमा भएको वर्षाका कारण करोड मूल्य बराबरको क्षति पुर्याएको इँट्टा व्यवसायीले बताएका हुन् । तुलसीपुर १८ बिजौरीमा रहेको जय महालक्ष्मी इँट्टा उद्योगमा यसपटकको हिउँदे वर्षाले लाखौँ क्षति पुर्याएको उद्योगका व्यवस्थापक रोसन वलीले बताए । विभिन्न समयमा भएको हिउँदे वर्षाको कारण करिब तीन लाख इँट्टामा क्षति पुगेको र करिब १७ लाख बराबरको नोक्सानी भएको उनले बताए । उनले भने, ‘इँट्टा साँचोबाट झर्नेबित्तिकै मजदुरलाई पैसा दिनु पर्छ, पानीले गर्दा हामीलाई धेरै नोक्सानी भयो ।’ उनका अनुसार काचो इँट्टाको बीमा पनि हुँदैन्, राज्यबाट पनि हामीलाई केही सहयोग हुँदैन् । त्यसैले इँट्टामा नोक्सानी भए मूल्य पनि बढ्छ ।
पहिले १३ रुपैयाँ प्रतिपिस पर्ने इँट्टालाई १६ रुपैयाँमा बच्ने गरेको उनले बताए। त्यसैगरी, अर्का तुलसीपुर १८ डाँडागाउँमा इँट्टा व्यवसायी बालकृष्ण बुढामगरले यस हिउँदे वर्षाले करिब ३० लाख इँट्टा नोक्सानी हुँदा ४० लाख बराबरको घाटा लागेको उनले बताए । मजदुरले साँचोबाट इँट्टा खसाले प्रतिपिसको हिसाबले पैसा दिनुपर्ने र त्यो इँट्टा पानी वा कुनै कारणले नोक्सानी भए आफैँले व्यहोर्नु पर्ने उनले बताए । त्यसैगरी, तुलसीपुर १९ बाँसगढीमा रहेको शिव इँट्टा उद्योगमा पनि यो हिउँदे पानीका कारण करिब १ करोड बराबरको क्षति भएको उद्योगका संचालनक शिव कुमार चौधरीले बताए । फायर गर्नको लागि तयारी अवस्थामा रहेको इँट्टा नोक्सानी भएको उनले बताए ।
एकपटक पानी पर्दा १५ लाख बराबर इँट्टा नोक्सानी भएको र यो मौसममा चारपटक पानी पर्दा नोक्सानी व्यर्होनु परेको उनले बताए । वर्षमा सात महिना मात्र उद्योग संचालन हुने उनको भनाइ छ । ‘अन्य समय पानीले गर्दा उद्योग बन्द हुन्छ । अहिले पानीले गर्दा छिट्टै नै बन्द होला जस्तो छ, उनले भने, ‘पानी परि रहन्छ, इँट्टा जति बनाएको सबै नोक्सानी हुन्छ ।’ दाङमा मात्र यो हिउँदे वर्षाले ३ करोड इँट्टा नोक्सान भएको र प्रदेश-५ मा करिब १५ करोड इँट्टामा क्षति पुगेको दाङ देउखुरी इँट्टा व्यवसायी संघका महासचिव एवं प्रदेश ५ का कोषाध्यक्ष प्रेमनाथ योगीले बताए ।
इँट्टाको बीमा नहुँदा पानीका कारण व्यवसायीले ठूलो क्षति व्यर्होनु परेको उनले गुनासो गरे । सरकारसँग धेरै पटक बीमामा लैजान माग गर्दा पनि सुनुवाई नभएको उनले बताए ।







प्रतिक्रिया