रेडियो   टिभी

कोरोना संक्रमित युवतीसंगै आएका एक युवक कपिलवस्तुको रनगाईमा भेटिए


मायादेवी अनलाइन, चारनम्बर ।
सोमबार मात्र नोवेल कोरोना भाइरस (कोभिड १९ )को संक्रमित भएको पत्ता लागेकी एक युवतीसंगै आएका मध्ये एक युवक कपिलवस्तु रनगाईका रहेको पाइएको छ । फ्रान्सबाट आएर नेपालमा संक्रमण पुष्टि भएकी युवतीसंगै कपिलवस्तुका ती युवक एउटै विमानमा आएको पाइएको छ । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले संक्रमित युवतीसंगै आएका ती युवकलाई गोरुसिंगेस्थित क्वारेनटाइनमा लिएर राखिएको मायादेवी अनलाइनलाई बताउनुभयो । ती युवकको अवस्था अहिले सामान्य रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

जिल्लाको बुद्धभूमि ३ मा घर रहेका ती युवक युवतीसंगै आएपनि उनको चेकजाँच गर्दा सामान्यस्थिती रहेको उहाँले बताउनुभयो । मंगलबार इलाका प्रहरी कार्यालय गोरुसिंगेले युवकको पत्ता लगाएको हो । युवतीसंगै डेढ सय भन्दा बढी आएका नेपालीको पहिचान गर्ने क्रममा कपिलवस्तुमा पनि एक व्यक्ति फेला परेका हुन ।
अहिले ती युवकलाई नगरपालिकाले बनाएको क्वारेनटाइनमा सुरक्षाकर्मीको निगरानीमा राखिएको छ । उनी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा रहेकाले नआत्तिन नगरबासीमा नगर प्रमुख श्रेष्ठले आग्रह गर्नुभएको छ । ‘संगै आएकाले क्वारेनटाइनमा राखिएको हो, उनको स्वास्थ्य तत्काल ठिकठाक रहेको पाइएको छ, नगर प्रमुख श्रेष्ठले भन्नुभयो’, “आवश्यक चेकजाँच गरिनेछ । नगरबासी यो विषयमा हतासिन हुँदैन ।” उनको नाम पत्ता लागे पनि गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस