६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कोरोना अपडेटः कपिलवस्तुमा ३ सय ७२ जना क्वारेनटाइनमा, कुनमा कति यस्तो छ रिर्पोट ?



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुका बिभिन्न पालिकामा निर्माण भएका क्वारेनटाइनमा अहिलेसम्म ३ सय ७२ जनालाई राखेर निगरानी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मंगलबार साँझ उपलब्ध गराएको रिर्पोट अनुसार १० पालिकामा निर्माण गरिएका ५ सय ६ क्वारेनटाइन बेडमा ३ सय ७२ जना रहेको उल्लेख छ ।
जसअन्तरगत सबैभन्दा बढी विजयनगर गाउँपालिकामा ९७ जना क्वारेनटाइनमा रहेका छन । सोमबार ४० जना रहेकोमा मंगलबार ९७ पुगेका हुन । कोरोना संक्रमण रोकथाममा सबैभन्दा बढी सक्रियता पूर्वक लागेको विजयनगरले घरघरमा गएर विदेशबाट आएका नागरिकलाई अनिवार्य क्वारेनटाइनमा बस्न निर्देशन जारी गरेको छ ।
दक्षिणी सिमावर्ती महाराजगञ्ज नगरपालिकामा सोमबार ३ जना रहेकोमा मंगलबार एक्कासी बढेर ७० जना पुगेका छन । कृष्णनगर नगरपालिकामा ६८ जना, शुद्धोधन गाउँपालिकामा ४९ जना, मायादेवी गाउँपालिकामा ४० जना, कपिलवस्तु नगरपालिकामा २५ जना, शिवराज नगरपालिकामा १५ जना, बुद्धभूमि नगरपालिकामा ४ जना र सबैभन्दा कम वाणगंगा नगरपालिकामा २ जना क्वारेनटाइनमा रहेका छन ।
क्वारेनटाइनमा रहेका सबै सामान्य रहेका र एक जनामा पनि कोरोना संक्रमणको लक्षण नदेखिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मायादेवीलाई जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेनटाइनमा रहेकाहरुलाई कुनै समस्या देखिएमा थप उपचारको लागि ८ वटा आईसुलेसन बेड पनि तयारी अवस्थामा राखिएको छ ।


क्वारेनटाइनमा सेवा नपाएको गुनासो आउन थाल्यो
कपिलवस्तुका क्वारेनटाइनमा बसेकाहरुले तीव्र गुनासो पोख्न थालेका छन् । क्वारेनटाइनमा बस्नेहरुले आफुहरुले खाना नास्ता शुद्ध पानी, झुल नभएको भन्दै तीव्र असन्तुष्टि जनाएका हुन् । क्वारेनटाइनको संख्या बढाए पनि त्यहाँ न्युनतम सुविधाहरु पनि नभएको उनीहरुले बताएका छन् ।
उनीहरुले तोकिएको मापदण्ड अनुसार क्वारेनटाइन नबनाए आफूहरुको ज्यान नै जोखिममा पर्ने सक्ने भन्दै स्थानीय सरकारको समेत ध्यानाकर्षण गराएका हुन् । यस्तै कतिपय स्थानमा जन प्रतिनिधिहरुले चिनजानका आधारमा विदेशबाट आएकाहरुलाई पनि क्वारेनटाइनमा नबसाली सिधै घर पठाउने गरको समेत गुनासा गरेका छन् ।
भारत र बिदेशबाट आएका जो सुकैलाई अनिवार्य क्पारेनटाइनमा राख्नु पर्ने भए पनि जनप्रतिनिधिबाटै उलङ्घन भएको भन्दै त्यसो नगर्न सुझाएका छन् । क्वारेनटाइनमा बसेकाहरले ज्वरो, रुघा खोकीका बिरामीको जाँचमा समेत स्वास्थयकर्मी संबेदनशील हुनु पर्ने माग गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ७ : ४४ बजे