२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सुनौलीमा अलपत्र परेका नेपाली रुँदै भारततर्फ लागे, भन्छन् ‘बरु यहीँ मर्छौँ भारत जान्नौँ !



भैरहवा । नेपाल प्रवेश गर्ने अनुमति नपाएपछि सुनौली सीमा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका सयौं नेपाली अन्ततः मंगलबार साँझ रुदै भारततर्फ लागेका छन् । उनीहरुलाई भारतीय सुरक्षाकर्मीको ठूलो समूहले दशगजा सिमानामा आएर चार–पाँच वटा बसबाट साँझ ६ बजेतिर भारततर्फ नै फर्काएको थियो। दशगजा सिमानामा सोमबार रातिदेखि धर्नामा बसेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले नेपाल र भारत सरकारबीच अर्को निर्णय नहुञ्जेल व्यवस्थित रुपमा क्वारेन्टाइनमा राखिने प्रतिबद्धता जनाउँदै भारततर्फ फर्काएका थिए। दशगजामा रहेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले भारत फर्किन अनेक आग्रह गर्दा त्यहाँ खटिएका नेपाली सुरक्षा अधिकृतहरुले यसबारेमा माथिल्लो स्तरमा छलफल जारी रहेकाले कतै नजान भन्दै सुरुमा सल्लाह दिए पनि अन्तिममा भारत फर्कनका लागि दबाब दिएका थिए।
भारतीय र नेपाली सुरक्षाकर्मीले उनीहरुलाई भारततर्फ फर्कनका लागि दबाब दिँदा भने त्यस क्षेत्रको अवस्था निकै कारुणिक र विरक्तलाग्दो थियो। ‘बरु हामी यही दशगजामा भोकै बसेर मर्न तयार छौं तर भारततर्फ जाँदैनौं,’ दशगजा सिमानामा बसेका नेपाली सामूहिक रुपमा चिच्याउँदै बिन्तीभाउ गर्दै थिए, ‘हिजो हामीलाई भारतमा बस्न नदिएर नेपाल आउन बाध्य बनाइएको थियो।’

दुवैतर्फ सुरक्षाकर्मीले दशगजाबाट उठेर भारततर्फ जान बाध्य बनाएपछि कैयौँ नेपाली रोएका थिए। केही भने आक्रोशित हुँदै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै थिए। कतिले आफूलाई नेपाली नागरिक भन्नसमेत लाज लाग्ने वातावरण नेपाल सरकारको तर्फबाट भएक भन्दै आक्रोश व्यक्त गर्दै थिए। केहीले विपत्मा परेका आफ््नै नागरिकलाई नेपाल सरकारले उद्धार गर्नुको सट्टा भारततर्फ नै धकेलेर आफ्नो दायित्वबाट पन्छिएको आरोप लगाएका थिए।

दशगजाबाट उठाएर जबर्जस्ती भारततर्फ बसमा राख्ने बेला उनीहरुले नेपाल सरकारविरुद्ध नाराबाजी गरेका थिए। सबैजना बसमा बसेर भारत फर्किन लाग्दा अर्घाखाँची पणेनीकी शान्ता विक आफन्तको छातीमा टाँसिएर रोइरहेकी थिइन्। ‘बरु म यहीँ मर्छु आज मेरो देश नै पराइ बन्यो,’ उनी बिलौना गर्दै थिइन्।
सीमा क्षेत्रमा खटिएका केही नेपाली सुरक्षा अधिकृतका अन्सुार सोमबार राति नेपालीलाई भारततर्फ खाना खुवाएपछि नेपालतर्फ जान उत्प्रेरित गर्दै दशगजामा ल्याएर जम्मा हुने बातावरण तयार पारेका थिए। पहिला दशगजा सिमानासम्म आउन नदिएर छेकबार लगाएका भारतीय पुलिसले राति भने छेकबार खोलेर दशगजामा जम्मा पारेपछि तत्कालै छेकबार लगाएर भारततर्फ फर्किन रोक लगाएका थिए। मंगलबार एकाएक उनीहरुले फेरि विभिन्न सुविधा प्रदान गरिने प्रतिबद्धता जनाउदै भारततर्फ नै फर्काए।
सिमानामा रहेका एक भारतीय सञ्चारकर्मील उत्तरप्रदेश सरकारले लकडाउन गरिएपछि जो जहाँ छ त्यहीँ नै व्यवस्थित रुपमा राख्ने निर्णय गरेपछि भारतीय पक्षले दशगजामा रहेका नेपालीलाई फर्काउनु परेको बताए।
झण्डै चार सयको संख्यामा रहेका नेपालीलाई ९ किमी पर नौतनवास्थित नौतनवा इन्टर कलेजमा व्यवस्थित रुपमा राखिने भारतीय सुरक्षा अधिकारीले जनाए।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतबाट नेपाल आउन खोजेकालाई भारतीय पक्षबाट र नेपालबाट भारततर्फ जान चाहेकालाई नेपालको तर्फबाट राख्न पर्नु भएकाले नेपालीलाई भारततर्फ लगिएको जनाए। ‘लकडाउन भनेको नै जो जहाँ छ त्यहीँ नै राख्ने भन्ने हो,’ उनले भने, ‘नाका नखोल्ने भन्ने भएपछि हामीले यस खालको निर्णय गरेका हौं। यसबारेमा माथि जानकारी गराउँदा ठीक छ भन्ने जवाफ आएको थियो।’
यसबारेमा आफू र सीमावर्ती महाराजगन्ज जिल्लाका डीएमबीच सम्पर्क भइरहेको र संक्रमणको अवस्था हेरेर न्यूनतम पनि १४ दिनको क्वारेन्टाइनमा राखिने प्रजिअ पन्थले जनाए।
दशगजा सिमानाबाट नेपालीलाई भारततर्फ फर्काएसँगै भारत प्रवेश नपाएर दशगजामा रोकिएका करीब डेढ सय भारतीय नागरिकलाई पनि रुपन्देही प्रशासनले नेपाल फर्काएर सिमानादेखि करीब २ किलोमिटर वर रहेको डन्डा नदी नजिकको निमा प्रतिमान अध्ययन प्रतिष्ठानमा राखेको छ।
भारतमा दुःख पाएर नेपाल आउन बाध्य भएका आफ्ना नागरिकलाई उद्धार गरेर नेपालकै क्वारेन्टाइनमा राख्नुको सट्टा सिमानामा तीन दिनसम्म रोकेर भारततर्फ नै फर्काउने काम नेपाल सरकारको गल्ती भन्दै स्थानीय स्तरमा नेपाल सरकार, प्रदेश र स्थानीय सरकारको आलोचना भएको छ। कान्तिपुरबाट लिइएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७६ बुधबार ००:००  ६ : २३ बजे