२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

कोरोना अपडेटः मृतक ४२ हजार, मृत्युले उचाइ लिए पछि ट्रम्प चिन्तित




एजेन्सी ।
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। हिजो एकैदिन ४ हजार ३ सय ३४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण विश्वभर मृत्युहुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ। पछिल्लो समय ब्यापक रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण अमेरिकामा मात्रै हिजो एकैदिन ७ सय १९ जनाको ज्यान गएको छ। २३ हजार ५ सय ५५ जना नयाँ संक्रमित भेटिएका छन्। अमेरिकामा हालसम्म १ लाख ८७ हजार ३ सय ४७ जना संक्रमित हुँदा ३ हजार ८ सय ६० जनाको मृत्यु भएको छ।

यस्तै इटालीमा हिजो एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ। इटालीमा १ लाखभन्दा बढी मानिसमा संक्रमण फैलिदा १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ। स्पेनमा कारोना संक्रमणका कारण थप ७ सय ४८ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ। यस्तै जर्म्निमा थप १ सय ३०, फ्रान्समा ४ सय ९९, इरानमा १ सय ४१, बेलायतमा ३ सय ८१ तथा नेदरल्याण्डमा १ सय ७५ जनाको मृत्यु भएको छ। छिमेकी देश भारतमा हिजो थप ३ जनाको मृत्युभएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ। १ सय ४६ जना नयाँ संक्रमित भेटिएका छन्। तर कोरोनाको उद्गमस्थल चीनले भने भाइरसलाई संक्रमण शून्यमा झारेको छ। चीनमा हिजो कुनैपनि नयाँ संक्रमित नभेटिनुका साथै मानिसको ज्यान समेत गएको छैन। उता स्पेनमा थप ३ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि ४ जनामा संक्रमण देखिएको थियो । योसँगै स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ । २ जना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । तर उनीहरुलाई अस्पतालकै निगरानीमा होटलका छुट्टै कोठाहरुमा आईसोलेसनमा राखिएको नेपाली समुदायका अगुवाहरुले बताएका छन् ।यस्तै अमेरिकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा कम्तिमा एक लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् ।

ह्वाइट हाउसमा भएको कोरोनाभाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले अबको दुई हप्ता निकै जोखिमपूर्ण र कठिन हुने भन्दै सबै अमेरिकीलाई अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्न अपिल गरेका छन् ।शीर्ष स्वास्थ्य विज्ञले दिएको सल्लाह अनुसार कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सावधानी अपनाउन उनले आग्रह गरेका हुन् ।

यसअघि कोरोना भाइरस मात्रै फ्लू रहेको र यसलाई छलको शंज्ञा दिएका ट्रम्प अहिले आएर कोरोना भाइरसबाट ‘त्रसिए’ को देखिएको छ ।उनले केही दिनअघिसम्म अमेरिकी जनजीवन सामान्य अवस्थामा चाँडै फर्किने बताएका थिए । तर अहिले उनी सामाजिक दूरी कायम गर्ने पक्षमा लागेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६ बुधबार ००:००  ८ : १८ बजे