२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौति कोरोना महामारी



एजेन्सी ।
कोरोना भाइरसको महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौति रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले बताएका छन् ।कोरोना भाइरसको हालको महामारीले विश्वव्यापी आर्थिक मन्दी ल्याउन सक्ने र पछिल्लो आर्थिक संकट भन्दा भयानक हुन सक्ने चेतावनी पनि उनले दिएका छन् ।महामारीबाट पर्न सक्ने सामाजिक आर्थिक प्रभाव सम्बन्धी संयुक्त राष्ट्रसंघको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर ४२ हजार भन्दा बढीको मृत्यु भएको छ भने ८ लाख ५७ हजार भन्दा बढी संक्रमित भएका छन् ।

न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बोल्दै महासचिव गुट्रेसले भने, ‘कोरोना भाइरसको महामारीले समुदायको केन्द्रमा हिर्काएको छ । यसले जीवन र जीविका माथि नै प्रहार गरेको छ ।’उनले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघको स्थापनापछि हामीले संयुक्त रुपमा सामना गर्नु पर्ने परीक्षा बनेर आएको छ कोभिड–१९ ।’ महामारी अन्त्यका लागि तत्काल सहकार्यको खाँचो रहेको उनले बताएका छन् ।महासचिव गुट्रेसले औद्योगिक धनी राष्ट्रलाई कोरोना भाइरसविरुद्धको अभियानमा कम विकसित देशलाई सहयोग गर्न सुझाव दिएका छन् ।
महामारीका कारण विश्वभर दुई करोड ५० लाख भन्दा बढी मानिसको रोजगारी खोसिने सम्भावना रहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६ बुधबार ००:००  ८ : २२ बजे