२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

१० हजार नेपाली रहेको स्पेनमा थप तिन जनामा कोरोना



एजेन्सी । स्पेनमा थप ३ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।यसअघि ४ जनामा संक्रमण देखिएको थियो । योसँगै स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ । २ जना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । तर उनीहरुलाई अस्पतालकै निगरानीमा होटलका छुट्टै कोठाहरुमा आईसोलेसनमा राखिएको नेपाली समुदायका अगुवाहरुले बताएका छन् ।संक्रमितहरुमध्ये बार्सिलोनास्थित सान्तपाओं अस्पतालमा एक जना, हस्पिटल दे सान्त खोवान देस्पिमा २ जना, भालदेब्रन युनिभर्सिटी अस्पतालमा १ जना र हस्पिटल दे मारमा १ जनाको उपचार भइरहेको छ ।

बिगत चार दिनयता नयाँ ३ जना संक्रमितहरु थपिएका हुन् । उनीहरु सबै स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका छन् । संक्रमितमध्ये ६ जना पुरुष र एक महिला रहेका छन् ।एक सातादेखि आईसीयूमा उपचार गराइरहेका एक नेपालीको स्वास्थ्यमा भने सुधार आएको छ । एनआरएनए स्पेनका पूर्वअध्यक्ष भिष्मकुमार गुरुङ ९अनिल०ले दिएको जानकारी अनुसार उनलाई मंगलबारदेखि आईसीयूबाट जनरल वार्डमा सारिएको छ । गुरुङले भने, ‘दिनको एकपटक डाक्टरले फोन गरेर जानकारी दिने गरेको छ ।

उहाँको स्वास्थ्यमा सुधार आएको छ ।’स्रोतका अनुसार संक्रमितहरु ६ वटा छुट्टाछुट्टै परिवारका हुन् । उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यहरु पनि स्वास्थ्य परीक्षण गर्न अस्पताल पुगेका थिए । स्पेनमा झण्डै १० हजार नेपालीहरु छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६ बुधबार ००:००  ८ : ३१ बजे