मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा क्वारेनटाइनमा बसोबास गर्नेहरुको संख्या विहीबारको तुलनामा शुक्रबार घटेको छ । केही दिन देखि क्वारेनटाइनमा बसोबास गर्नेहरुको संख्यामा बृद्धि हुँदै आएपनि शुक्रबार २३ जना डिस्चार्ज भएसंगै संख्या घटेको हो ।
जिल्लाका १० स्थानीय तहमा निर्माण गरिएका क्वारेनटाइनमा ६ सय ९५ भएपनि शुक्रबार त्यो संख्या घटेर ६ सय ७२ पुगेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । विहीबार सबैभन्दा बढी व्यक्तिलाई क्वारेनटाइनमा राखिएको थियो ।
भारतबाट आउने व्यक्तिहरुलाई अनिवार्य १४ दिन क्वारेनटाइनमा बसाल्नुपर्ने नियम छ । सोही अनुसार जिल्लाका विभिन्न स्थानीय तहले बनाएका क्वारेनटाइनमा राखिएको हो ।
प्रशासनले उपलब्ध गराएको प्रतिवेदन अनुसार महाराजगञ्जमा सबैभन्दा बढी १ सय ७७ जनालाई क्वारेनटाइनमा राखिएको छ । विजयनगर गाउँपालिकामा १ सय ३३, शुद्धोधन गाउँपालिकामा ७६, मायादेवी गाउँपालिकामा ६७, कृष्णनगर नगरपालिकामा ५३, कपिलवस्तु नगरपालिकामा ५१ जना रहेका छन
यसैगरी शिवराज नगरपालिकामा ४५, यशोधरा गाउँपालिकामा ३७, बुद्धभूमि नगरपालिकामा २९ जना क्वारेनटाइनमा रहेका छन भने सबैभन्दा कम वाणगंगा नगरपालिकामा ४ जना रहेका छन ।
जिल्लामा ८ सय ९९ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि मूलुक अहिले लकडाउनमा छ । भारतीय सिमानाकासंग जोडिएको कपिलवस्तुमा खुला सिमानाका कारण कतिपय नेपाली आएपनि घरमै लुकेर बस्ने गरेको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएको छ ।
त्यस्ता ब्यक्तीलाई अनिवार्य क्वारेन्टाइनमा बस्न पनि प्रशासनले आग्रह गरेको छ । यस्तै विभिन्न स्थानिय तहले बाहिरबाट आउनेको तथ्याङक संकलन गरि अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलका अनुसार जिल्लामा हाल सम्म कसैमा पनि कोरोना भाइरस देखिएको छैन् ।
२१ चैत्र २०७६ शुक्रबार ००:००
0
Shares







प्रतिक्रिया