१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कसरी धुने सावुन पानीले हात ? यस्तो छ तरीका



मायादेवी अनलाइन ।
विश्वभर यतिवेला कोरोना भाइरसको त्रास छ । यो भाइरसबाट बच्ने सवैभन्दा राम्रो उपाय सावुनपानीले हात धुनु हो । तर विश्वभर हात धुन सावुनपानीको पहँच भएका व्यक्ति भने न्युन देखिएको छ । युनिसेफका अनुसार करोडौं मानिस यो आधारभूत सुविधाबाट बञ्चित छन् । पछिल्लो तथ्यांकअनुसार संसारभर हरेक ५ जना मध्ये ३ जनासँग मात्र हात धुने सुविधा उपलब्ध छ ।

नेपालमा कुल जनसंख्याको आधा भन्दा धेरैको पहुँचमा साबुनपानीले घरमै हात धुने सुविधा नरहेको हात धुने विधिका बारेमा सुचना युनिसेफ तथा विश्व स्वास्थ्य संगठनको संयुक्त निगरानी कार्यक्रमको प्रतिवेदनले जनाएको छ । ‘अन्य कैयौं रोगहरूकासाथै कोरोनाभाइरसबाट आफु र अन्यलाई जोगाउन साबुनपानीले हात धुनु सबैभन्दा सस्तो र प्रभावकारी उपाय हो तर करोडौं मानिसका लागि यो सुविधा पहुँच बाहिर छ’, युनिसेफ कार्यक्रम विभागका निर्देशक सञ्जय विजेसकेरा भन्छन् ।

युनिसेफका अनुसार संसारको ४० प्रतिशत जनसंख्या, अर्थात ३ अर्ब मानिसको घरमा साबुन पानीले हात धुने सुविधा छैन । अति कम विकसित राष्ट्रका लगभग तीन चौथाई मानिसको घरमा हात धुने आधारभूत सुविधा नरहेको उसको भनाई छ । ४७ प्रतिशत विद्यालयमा साबुन पानीले हात धुने सुविधा नभएका कारण विद्यालय जाने उमेरका ९० करोड बालबालिका प्रभावित भएको युनिसेफको दावी छ ।

युनिसेफका अनुसार संसारभरका एक तिहाई विद्यालय तथा अति कम विकसित राष्ट्रका आधाजसो विद्यालयमा बालबालिकाहरूले हात धुने ठाउँ उपलब्ध छैन । १६ प्रतिशत अर्थात प्रत्येक ६ मध्ये १ स्वास्थ्य संस्थाका बिरामी जाँच गरिने स्थानमा प्रयोग गर्न योग्य शौचालय वा हात धुने सुविधा उपलब्ध छैन ।

नेपालमा ५४ प्रतिशत स्वास्थ्य संस्थाहरूमा बिरामी जाँच गरिने स्थानमा हात धुने सुविधा उपलब्ध छैन । त्यसैगरी स्वास्थ्य संस्थाका बहिरंग विभागहरूमा कीटाणुनाशकतत्व ५९ प्रतिशत मात्र उपलब्ध छन् भने स्वास्थ्य संस्थाका सुत्केरी गराउने कक्षहरूमा पानीको उपलब्धता केवल ६९ प्रतिशत मात्र छ ।

युनिसेफका अनुसार अफ्रिकाको उप–सहारा खण्डको शहरी क्षेत्रमा बसोबास गर्ने ६३ प्रतिशत जनसंख्या अथवा २५ करोड ८० लाख जनता आधारभूत हात धुने सुविधाबाट बञ्चित छन्न् ।

दक्षिण अफ्रिकाका ४७ प्रतिशत जनसंख्या (लगभग १ करोड ८० लाख मानिस)को घरमा पनि आधारभूत हात धुने सुविधा उपलब्ध नभएको उसले जनाएको छ । दक्षिण एसियामा शहरी क्षेत्रमा बसोबास गर्ने २२ प्रतिशत अथवा १५ करोड ३० लाख मानिस हात धुने सुविधाबाट बञ्चित छन् । बंगलादेशको शहरी क्षेत्रमा बसोबास गर्ने ५० प्रतिशत अर्थात ९२ करोड ९० लाख जनसंख्या तथा भारतको शहरी क्षेत्रमा बसोबास गर्ने २० प्रतिशत (९ करोड १० लाख) मानिसको घरमा आधारभूत हात धुने व्यबस्था उपलब्ध छैन ।

पूर्वी एसियामा इन्डोनेसियाका २० प्रतिशत (९४ करोड १० लाख) शहरी क्षेत्रका बासिन्दा, फिलिपिन्सका १५ प्रतिशत (७० लाख) बासिन्दाका घरमा आधारभूत हात धुने व्यबस्था उपलब्ध छैन । नेपालमा शहरी क्षेत्रमा बसोबास गर्ने ३३ प्रतिशत वा १० मध्ये ३ जना मानिसहरूमा साबुन पानीले हात धुने सुविधाको पहुँच छैन ।

स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई कोभिड–१९ तथा अन्य संक्रमणबाट जोगाउन तथा थप संक्रमण फैलिन नदिन पनि हात धुनु अत्यन्तै महत्वपूर्ण रहेको युनिसेफको दावी छ ।

कोरोना भाइरस प्रभावित देशहरूका स्वास्थ्य सेवा प्रणालीमा यसको असर बढ्दै गइरहेको बेला श्वासप्रश्वास तथा झाडापखालाका सामान्य रोगहरूबाट जोगिन पनि साबुन पानीले हात धुनु एकदमै महत्वपूर्ण भएको युनिसेफको भनाइ छ ।

कसरी धुने हात ?
बगिरहेको पानीमा हात भिजाउन,
भिजेको हातमा मनग्गे साबुन लगाउने
हत्केलाको पछाडि, औंलाकोबीच, नङको भित्रलगायत हातका सबैभागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने
बगिरहेको पानीले राम्ररी हात पखाल्ने
सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  ९ : ५८ बजे