२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कोरोना कहरः वाणगंगामा दिनहुँ छलफल, बढीभन्दा बढी राहत उठाउने कसरत



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा आजभोलि दिनहुँजसो छलफल हुन्छ । कोरोना भाइरसको कारण मुलुक ‘लकडाउन’को अवस्थामा रहेपनि वाणगंगाका जनप्रतिनिधि र कर्मचारी फुर्सदमा छैनन । सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यताका बीच वाणगंगाले हरेक बैठक बुद्ध रंगशालाको चौरमा राख्दै आएको छ ।
कोरोना भाइरसको संक्रमणमा चासो कम देखिएको भन्दै वाणगंगाको चर्को आलोचना नभएको भने होइन । केही दिन यता वाणगंगा अचम्मले तातिएको छ ।
शनिबार मात्र वाणगंगाले तीन पक्षसंग छलफल चलायो । विहान नगर क्षेत्र भित्रका सरकारी विद्यालयका प्रधानाध्यापकसंग छलफल चलाएको वाणगंगाले दिउँसोपख नीजि विद्यालयका प्रिन्सिपल र सहकारी संघ संस्थाका प्रमुखसंग घनिभूत छलफल गरेको थियो ।
कोरोना भाइरसले निम्ताएको जोखिममा नगर क्षेत्रभित्रका गरिब, मजदुर, विपन्न तथा श्रमिक वर्ग मारमा परेकोले ती व्यक्तिहरुलाई कसरी राहत दिन सकिन्छ भनेर विभिन्न क्षेत्रसंग छलफल गरेको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।
शनिबार सरकारी, नीजि विद्यालयका प्रधानाध्यापक तथा सहकारी संस्थाका प्रमुखसंग यस विषयमा छलफल भएको बताउँदै प्रवक्ता पौडेलले राहतका लागि सबै पक्षबाट सहयोगबारे सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो ।
शुक्रबार पनि वाणगंगाले नगर क्षेत्रभित्रका सामुदायिक बनहरुसंग छलफल गरेको थियो भने उद्योगी व्यवासायीसंग दैनिक जसो छलफल हुँदै आएको छ ।
एकद्धार प्रणालीबाट राहत वितरण गर्ने तयारी गरेको नगरपालिकाले चारनम्बरको राष्ट्रिय वाणिज्य बैंकमा ‘दैविक प्रकोप कोष’ को खाता खोलेर विभिन्न क्षेत्रसंग सहयोगको माग गरेको छ । नगर क्षेत्रभित्र अहिलेसम्म कुनै पनि कोरोना संक्रमित फेला परेका छैनन । यद्यपि, चार जना भने क्वारेनटाइनमा बस्दै आएका छन ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  ५ : ४२ बजे