१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भ्रामक सूचना फैलाएर प्रधानमन्त्री कार्यालयको फेसबुक पेज डिलिट



काठमाडौँ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारीक फेसबुक पेजबाट बिहीबार साँझ एउटा सूचना सार्वजनिक गरियो– लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने खोज्नु भएका बासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरीय समितिको बैठकले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।

त्यसको केहीबेरमा सोही पोष्ट तल अपडेट भर्न्दै अर्को जानकारी थपियो– स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ। सर्वसाधारणलाई सामाजिक सञ्जालबाट सहज जानकारी बाँड्न प्रधानमन्त्री कार्यालयले खोलेको फेसबुक पेजबाट छिनको छिनमै आएको फरक फरक जानकारीका कारण सामाजिक सञ्जाल प्रयोगकर्तामा द्धिविधा उत्पन्न भइसकेको थियो।

प्रधानमन्त्री कार्यालयको फेसबुक पेजबाट केही बेरमा यो पोष्ट हट्यो। पोष्ट भएको केही बेरमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको फेसबुक पेज नै निस्क्रिय बनेको छ। ओपीएमसीएमएनपी नामक युजरनेम रहेको फेसबुक पेज बिहीबार साँझदेखि निस्क्रिय छ।
प्रधानमन्त्री कार्यालयजस्तो संवेदनशील निकायले सूचना प्रवाहमा गरेको लापरबाहीलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।सूचना प्रविधि सम्बन्धी जानकार अधिवक्ता बाबुराम अर्याल प्रधानमन्त्री कार्यालयले पोष्ट डिलिट गर्नु र विवाद भएपछि पेज नै निस्क्रिय पार्ने कामलाई गम्भीर लापरबाही मान्छन्।

‘प्रधानमन्त्री कार्यालयको फेसबुक पेज चलाउनेको गल्ती देखिए पनि यो प्रधानमन्त्री कार्यालयकै गैरजिम्मेवारीपना हो,’ उनी भन्छन्, ‘यस्तो कामले सरकारी निकायले जारी गरेको सूचनामै नागरिकले सन्देह गर्न थाल्छन्।’ ‘आफूले दिएको सूचनामा विवाद भएपछि फेसबुक पेज निस्क्रिय पार्नु नेपाल टेलिभिजनमा गलत विज्ञापनका कारण टिभी नै बन्द गर्नु जस्तै हो,’ उनी भन्छन्।

सरकारी निकाले आफूले जारी गरेको सूचना गलत भए वा द्विविधा भए सच्याएर प्रष्ट पार्नुपर्ने र द्विविधाभएमा माफी माग्नु उपयुक्त हुने उनको सुझाव छ। रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले काठमाडौंमा अलपत्र परेका व्यक्तिहरुलाई घर जान सहज बनाउन शुक्रबार र शनिबार यातायात खुला गर्ने निर्णय गरेको थियो।

सोही निर्णयको आधारमा प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा पोष्ट अपडेट गरिएको स्रोतको दाबी छ। तर प्रधानमन्त्री कार्यालयको फेसबुक पेज कसले चलाउँछ, यसमा जानकारीहरु कसले पोष्ट गर्छन् भन्ने बिषय बाहिर आएको छैन।उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेल आफैंले सञ्चार माध्यममा शुक्रबार र शनिबार यातायात खुला गर्ने भनी आएको समाचार गलत भएको फेसबुकमा लेखेका छन्।उच्चस्तरीय समितिले दुई दिनको लागि काठमाडौं बाहिर जान यातायात सूचारु गर्ने निर्णय यातायात व्यवसायीको दबाबमा उल्टिएको थियो । कान्तिपुरबाट लिएका हौँ ।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  ६ : ०५ बजे