६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मध्य बैशाखमा पनि दिनहुँजसो बर्षाः शीतगंगाका अधिकांश सडक अवरुद्ध, बिकासका काम प्रभाभित



मायादेवी अनलाइन, अर्घाखाँची ।
मध्य बैशाख लाग्दा पनि दिनहुँजसो बर्षा भैरहेको छ । यो बर्षाले अर्घाखाँचीका ग्रामिण कच्चि सडक अवरुद्ध भएका छन् भने विकासका काममा पनि प्रत्यक्ष प्रभाव पारेको छ ।

जिल्लाको शीतगंगा नगरपालिकामा अधिकांश सडक अवरुद्ध हुँदा बिकास निमार्णको काम प्रभावित भएका हुन् । कोरोना महामारीको रोकथामका लागि सरकारले लकडाउन जारी गरेको छ । यो बेला गाउँमा सवारीसाधन चल्दैनन् । सामान्य विरामी हुँदा एम्बुलेन्सको माध्यमबाट अस्पताल ल्याउनुपर्ने बाध्यता भैरहेको बेला बर्षाले सडक अवरुद्ध पार्दा समस्या परेको भन्दै सर्वसाधारणले गुनासो गर्ने गरेका छन् ।

कोरोनासँग मिल्दा जुल्दा बिरामीको लक्षण देखियो भने स्थानीय मेडिकलले छुन पनि डर मान्ने गर्दा एम्बुलेन्सको सहायताले ठूला अस्पताल ल्याउनुपर्ने बाध्यता छ । तर, बर्षाले सडक लथालिङ्ग बनाएपछि झनै समस्या बल्झिएको छ ।

आजभोलि दैनिकजसो बर्षा भैरहेको छ । यद्यपि चैत १ गते र बैशाख १५ गते अर्घाखाँचीमा भीषण बर्षा हुँदा ग्रामिण भेगका कच्चि सडक नराम्रोसंग अवरुद्ध भएका छन् ।

शीतगंगा नगरपालिकाको बैठक बसेर अत्यावश्यक सडक मर्मत गर्ने निर्णय समेत गरेको भए पनि अधिकांश शाखा सडक मर्मत हुन सकेका छैनन् । दैनिक रुपमा परिरहेको बर्षाले यो समस्या पारेको हो ।

शीतगंगा हुँदै प्युठान जोडिने सडक अहिले अवरुद्ध छ । यसले ६ सय घर परिवार प्रत्यक्ष असरमा परेका छन् । नगरपालिकाको वडा नं. ६ वोहखर–प्युठान सडकखण्ड अहिले बर्षाले पूर्ण रुपमा अवरुद्ध भएको छ । जसले गर्दा उक्त सडकमा आवतजावत गर्ने देखि ढुवानीका सवारी चल्न नसक्दा समस्या भएको छ ।

वडा नम्बर ६ का वडाध्यक्ष ऋषि रेश्मिले बर्षासँगै सडक अवरोध हुँदा बिकासका योजना समेत अलपत्र परेको जानकारी दिनुभयो । नगरपालिकाको आँपचौर सिंचाइ योजनाको काम सुरु भए पनि सडक अबरोध हुँदा ढुवानीमा समस्या भएको र यसले काम समेत प्रभावित भएको वडाध्यक्ष रेश्मिले जानकारी दिनुभयो ।

यस्तै वडा नम्बर ६ मा प्रदेश योजना मार्फत भइरहेको ठुलापधेरा ठुलाडुंग्रे खानेपानी मर्मत योजना समेत सडक अवरोध हुँदा समस्या भएको उहाँले बताउनुभयो ।

नगरपालिका–३ को छंछगे पद्मे खानेपानी योजनाको काम समेत सडक अबरोध हुँदा सुचारु हुन नसकेको वडाध्यक्ष हेमनाथ भुसालले जानकारी दिनुभयो । काम सुचारु गर्ने समय भए पनि सडक अबरोधका कारण काम सुरु हुन नसकेको भुसालले जानकारी दिनु भयो ।

अन्य वडाहरुमा समेत सडक अबरोध हुँदा बिकास निमार्ण तथा दौनिक जीवनआपनमा समस्या भएको छ । नगरपालिकाले दौनिक यात्रु वहाक सबारी चल्ने सडकहरु भने ममर्त गरेको छ । विकास निर्माणसंग प्रत्यक्ष जोडिएका सडकहरुको पनि चाँडै मर्मतसम्भार गर्ने नगरपालिकाले तयारी थालेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  १ : ३२ बजे