१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तुमा एनजिओको भूमिका प्रशंसनिय, धमाधम राहत बाँड्दै



राम शरन रैदास, तौलिहवा ।
कपिलवस्तुका गैर सरकारी संस्थाले स्थानीय तहमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका गरिब, विपन्न घर परिवारलाई राहत वितरण गरेको छ । स्थानीय तहसंगको समन्वय र सहकार्यमा खाद्यान्न, स्वास्थ्य सरसफाई सामग्री सामाजिक दुरी कायम गरेर वितरण गरेको गैर सरकारी संस्था महासंघ नेपाल कपिलवस्तु शाखाका अध्यक्ष प्रवीण कुमार श्रीवस्तावले जनकारी दिनुभएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लक्षित वर्गका घर परिवारलाई दैनिक गुजारामा समस्या परेको भन्दै गैससहरुले स्थानीय तहसंग सम्पर्क समन्वय गरि राहत वितरण गरेका हुन् ।

सिद्धार्थ सामाजिक विकास केन्द्रले शुद्धोधन, मायादेवी, विजयनगर, वाणगंगा नगरपालिकामा विभिन्न राहत सहयोग तथा रेडियोवाट कोरोना भाइरस सम्बन्धी सचेतनामुलक सन्देश प्रशारण गरेको बताइएको छ ।

त्यस्तै संस्थाले क्वारेन्टाइनमा रहेका कपिलवस्तु जिल्लाका ३७ जना महिला किशोरीहरुलाई मर्यादा सामग्री हस्तान्तरण तथा विजयनगर आगलागी पिडित परिवारलाई विशेष प्याकेज सहयोग गरेको संस्थाका अध्यक्ष तेज प्रसाद आर्चायले जानकारी दिनुभएको छ ।

त्यस्तै किर्डाक नेपाल संस्थाले कपिलवस्तुको शिवराज र बुद्धभूमि न.पा.मा राहत कोषमा २ लाख ४१ हजारको दरले आर्थिक सहयोग तथा १ लाख २९ हजार २६० रुपैया बराबरको माक्स, सेनिटाइजर, सावुन, ग्लोबस आदि सामग्री समुदायमा वितरण गरेको साथै रेडियो एफएमबाट सचेतनामुलक सन्देश प्रशारण गरिरहेको परियोजना संयोजक हरिप्रसाद लौडारीले जनकारी दिनुभएको छ ।

सोही सन्दर्भमा कालिका स्वास्वलम्बन सामाजिक केन्द्रद्धारा कपिलवस्तु र नवलपरासी जिल्लामा दुई वटा रेडियो एफएमबाट सचेतनामुलक सन्देश प्रशारण भईरहेको जनाएको छ । कपिलवस्तु र रुपन्देहीमा रहेका हेल्प डेक्समा बाल्टी, साबुन, टुल, बाटा आदि सहयोग गरिएको तथा शिवराज नगरपालिकाको दुर्गा मन्दीरमा राखिएको क्वारेन्टाइनमा १० जनालाई स्वास्थ्य सरसरफाई सामग्री वितरण, सचेतनामुलक ब्यानर, पोष्टर वितरण, साथै फेरमेड नेपालको सहयोगमा कपिलवस्तु जिल्लाको १० स्थानिय तह र रुपन्देहीका ४ स्थानीय तहमा सेनिटाइजर, सावुन, स्वास्थ्य सामाग्री कपिलवस्तु अस्पताल तौलिहवा र भीम अस्पातल रुपन्देही भैरहवामा समेत सहयोग गरिएको छ ।

साथै बाल गृहमा रहेका बुवा आमा नभएको बालबालिकाका लागि खाद्यान्न करिब दश हजार बराबरको सहयोग गरेको कालिका संस्थाका कार्यकारी निर्देशक अर्जुन थापाले जानकारी दिनुभएको छ । सनसाइन सामाजिक विकास संस्थाले गरिब विपन्नलाई राहतका लागी बुद्धभूमि नगरपालिकालाई एक लाख आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष तुलसीराम यादवले जानकारी दिनुभएको छ ।

कोरोना भाइरस कै सन्दर्भमा दलित सामाजिक विकास केन्द्र र यूनाईटेड मिशन टु नेपालको सहयोगमा सचेतनामुलक सन्देश प्रशारण सामुदायिक रेडियो कपिलवस्तुद्धारा प्रशारण गरिरहेको र यशोधरा गाउँपालिकामा सन्देशमुलक सामग्री उपलब्ध गराएको छ । त्यस्तै मधेश मानव अधिकार गृह संस्थाबाट बालगृह तौलिहवामा रहेका अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोगका लागि पच्चीस हजार नगद सहयोग गरेको छ ।

विजयनगर गाउँपालिकाका एक स्थानीयको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु पश्चात काजक्रिया वापत दश हजार सहयोग उपलब्ध गराएको संस्थाका अध्यक्ष रविन्द्रनाथ ठाकुरले जानकारी दिनुभयो ।

साथै दियालो नेपाल संस्थाद्धारा शिवराज नगरपालिकालाई दशहजार राहत कोषमा साथै विजयनगर गा.पा.मा आगजानी पिडितलाई दश हजार सहयोग उपलब्ध गराएको संस्थाका अध्यक्ष तारा थापाले जानकारी दिनुभयो । विजयनगर आगलागी पीडित २५ घर परिवारलाई ईन्द्रेणी ग्रामीण विकास केन्द्रद्धारा झुल वितरण गरेको संस्था कार्यकारी निर्देशक प्रदिप शाहले जानकारी दिनुभएको छ ।

सामाजिक रुपान्तरणमा कृयाशिल सामाजिक संघसंस्था कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरिरहेको र लकडाउनका कारण अप्ठ्यारोमा परेका लक्षित समुदायलाई स्थानीय तहसंग समन्वय गरेर सहयोग गर्न तयार रहेको गैसस महासंघ नेपाल जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष प्रवीण कुमार श्रीवस्ताव बताउनुभयो ।

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  ६ : ०९ बजे