१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्रदेश ५ मा ‘कृषिकर्मी रोजगार कार्यक्रम’, पलायन श्रमशक्ति रोकिने विश्वास



बुटवल ।
प्रदेश ५ सरकारले कृषि क्षेत्रमा लागेकाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले कृषिकर्मी रोजगार कार्यक्रम ल्याएको छ । कार्यक्रमले पलायन भईरहेको श्रमशक्तिलाई रोकी कृषिलाई आकर्षित क्षेत्रको रुपमा विकास गर्ने अपेक्षा सरकारको छ ।

सरकारले ल्याएको कृषिकर्मी रोजगार कार्यक्रममा नीजि क्षेत्रलाई प्राथमिकता दिइएको छ । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै यसबारे जानकारी गराएको हो ।

प्रेस विज्ञप्तीमा कृषि क्षेत्रलाई सघनीकरण, विविधीकरण, व्यवसायीकरण र आधुनिकीकरण गर्न दीगो रुपमा दक्ष कृषिकर्मीको विकास गर्ने, ग्रामीण क्षेत्रमा उपलव्ध श्रोत साधनको अधिकतम उपयोग गरी कृषि विकास गर्न स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्य सहित यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।

कृषि क्षेत्रलाई सम्मानित पेशा व्यवसायको रूपमा स्थापित गर्न सके युवावर्गको आकर्षक बढ्न सक्ने भन्दै मन्त्रालयले अन्य रोजगार भन्दा सम्मानित क्षेत्रको रूपमा कृषि रोजगारलाई स्थापित गर्ने जनाएको छ ।

हाल दक्ष कृषिकर्मिले आधुनिक प्रविधिको प्रयोग गर्नेभन्दा पनि अर्धदक्ष कृषिकर्मिले परम्परागत रूपमा कृषि व्यवसाय चलिरहेकोले प्रयाप्त लाभ लिन नसकिएको मन्त्रालयको ठहर छ ।

मन्त्रालयले अर्धदक्ष कृषिकर्मीलाई दक्ष बनाउदै कृषि पेशालाई विशिष्टिकृत गर्ने र सरकारी निकायबाट समेत व्यवसायिक फार्म स्थापना गरी रोजगारी सिर्जना गर्ने योजना अगाडी सारेको हो ।

मन्त्रालयले कृषि कार्यक्रम रोजगारका लागि निजि क्षेत्रको सहकार्य र सरकारी निकायबाट संचालन हुने गरि दुईवटा मोडेल अगाडी सारेको छ ।

मन्त्रालयले अगाडी सारेको यो कार्यक्रमबाट भविष्यमा आउन सक्ने खाद्य संकट रोक्न तथा बढ्दो बेरोजगारीलाई सम्बोधन गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

मन्त्रालयका प्रवक्ता बिनोद घिमिरेले कृषि क्षेत्रलाई सम्मानित रोजगारको रुपमा स्थापित गर्दै कृषि उत्पादन बढाउन यस्तो कार्यक्रम अगाडी सारिएको बताउनु भयो ।

घिमिरेले निजि क्षेत्रको सहकार्यमा गरिने रोजगारि कार्यक्रमका लागि आवश्यक न्युनतम मापदण्ड समेत तयार गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  १० : १५ बजे