६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

रोल्पा बम विष्फोटबाट शोकमा रहेका परिवारलाई राहत दिलाउन सिफारिस गर्छुः मुख्यमन्त्री पोख्रेल



बुटवल ।
प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले रोल्पा बम विष्फोटबाट मृत्यु भएका बालबालिकाको परिवारलाई राहत दिइने बताउनु भएको छ । शुक्रबार शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री पोखरेलले विष्फोटमा परि चार बालबालिकाको निधन भएको घटनाले स्तब्ध बनाएको भन्दै एक शोक वक्तव्य जारी गरी पीडित परिवारलाई राहत दिलाउन प्रदेश सरकारले पहल गर्ने बताउनु भएको हो ।

मुख्यमन्त्री पोख्रेलले घटनामा परि निधनभएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली दिदैँ शोकमा परेका परिवारजनप्रति गहिरो समवेदन व्यक्त गर्नुभएको छ । घटनाका बारेमा जानकारी लिन र पीडित परिवारलाई समवेदना दिन प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी घटनास्थल जानुभएको भन्दै मुख्यमन्त्री पोखरेलले विष्फोटमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिश गर्ने जानकारी दिनुभयो ।

रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा वनमा बाख्रा चराएर घर फर्कदै गर्दा विहिबार साँझ विष्फोट हुँदा ५ वर्षका विजय खत्री, ११ वर्षकी विमला खत्री, १३ वर्षका गौरव नेपाली र १४ वर्षका नोखीराम डाँगीको निधन भएको घटनाले प्रदेश सरकारलाई मर्माहत तुल्याएको भन्दै मुख्यमन्त्री पोखरेलले विष्फोट भएको स्थलमा तत्काल सेना र प्रहरीको टोली पुगिसकेकाले सम्भावित क्षति न्यूनीकरण हुने बताउनुभयो ।

सशस्त्र द्वन्द्वका कारण बेलाबखत यस्ता दुर्घटना हुने गरेको भन्दै मुख्यमन्त्री पोखरेलले कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँका बारेमा सुरक्षा निकायलाई जानकारी दिन हार्दिक अपील गर्नुभएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  १२ : २२ बजे