६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

रोल्पा वमकाण्ड छानबिन गरी तत्काल कारबाही गर्न कांग्रेसको माग



काठमाडौँ । नेपाली कांग्रेसले रोल्पामा भएको बम विष्फोट घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । साथै बेवारिसे बमको खोजी गम्भीर रुपले गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।

रोल्पाको त्रीवेणी गाउँपालिकामा बम बिस्फोटमा परेर ४ अबोध बालबालिका ९११ वर्षीय विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगी० को मृत्यु भएको घटनामा कांग्रेससँगै सिंगो देश मर्माहत भएको प्रवक्ता विश्वप्रकाश शर्माले जनाउनु भएको छ ।

‘द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बाँकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरिलाई हृदय देखि गम्भीर र आत्मआलोचित बनाउने अपेक्षा छ ।

एक मात्रै पनि निर्दोष नागरिकको मृत्यु सामान्य कुरा होइन । त्यसमा पनि ४ नाबालकको बिस्फोटमा मृत्यु हृदयविदारक छ । नेपाली कांग्रेस यो घटनाको गहिरो अनुसन्धान गर्न सरकार समक्ष माग गर्दछ’, कांग्रेस प्रवक्ता शर्माले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  १२ : ४६ बजे