६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

प्रदेश ५ मा पहिलो पटक कोरोना पुष्टि, नेपालगञ्जमा एकै दिन दुई जनामा संक्रमण



काठमाडौं ।

प्रदेश ५ मा पहिलो पटक कोरोना भाइरसका दुई संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रदेशमा कोरोना भाइरस देखिदै आएपनि प्रदेश ५ मा हालसम्म एक जनामा पनि कोरोना पुष्टि नभएको अवस्थामा शुक्रबार मात्रै दुई जनामा कोरोना पुष्टि भएको छ । प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा ती संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको बताइएको छ । उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । अर्काको नेपालगञ्‍जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो ।

उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ । अर्का बिरामी रुपन्देहीका बासिन्दा हुन् । तर उनलाई नेपालगञ्‍जकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । मन्त्रालयले यसबारेमा केही समयमा आधिकारिक जानकारी दिने भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन् । बाँकी ४३ संक्रमितको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाइसकेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  २ : २३ बजे