४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दशगजामा अलपत्र नागरिकको तत्काल व्यवस्थापन नगरे स्थिति भयावह हुन्छः सांसद यादव



मायादेवी अनलाइन, चार नम्बर ।
प्रदेश सांसद सहसराम यादवले दशगजामा अलपत्र नागरिकको तत्काल व्यवस्थापन गर्न नसके कोरोनाको संक्रमण भयावह हुने चेतावनी दिनुभएको छ । दशगजामा नागरिकलाई रोकेर राखेको भनिएपनि रातभर लुकिछिपि नेपाल प्रवेश गर्नेहरुको संख्या बढीरहेको भन्दै यसले गम्भीर समस्या निम्त्याउने बताउनुभयो ।

रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम जनप्रतिनिधिसंग कुराकानी गर्दै सांसद यादवले दशगजामा रहेका नागरिकलाई स्थानीय तहले बनाएका क्वारेनटाइनमा राख्नुपर्नेमा जोड दिनुभयो । सिमा नाकाबाट दैनिक सयौं नागरिक नेपाल प्रवेश गर्न थालेको भन्दै यसको व्यवस्थापनमा केन्द्र र प्रदेश सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।

‘भारतबाट दैनिक सयौंको संख्या नेपालीहरु सिमामा आएका छन्, उनीहरुको तत्काल व्यवस्था गर्नुपर्ने आवश्यकता छ । यता तिर ध्यान दिन सकेनौं भने स्थिति भयावह हुनेछ उहाँले भन्नुभयो, केन्द्र सरकार अलि जिम्मेवार बनेको लागेन । पटक पटक केन्द्र सरकारका प्रतिनिधिसंग कुरा उठाउँदा पनि वास्ता गरिएन । ’

कोरोना संक्रमण डर भारत तथा तेस्रो मुलुकबाट आउनेहरुमा बढी भएको भन्दै यतातिर ध्यान दिनुपर्ने बताउनुभयो । पहिले पहिले भारतबाट आउनेहरु घरमा लुकेर बस्ने गरेपनि अहिले स्वयमले नै क्वारेनटाइनमा बस्नुपर्छ भन्ने मान्यता राखेकाले सचेतनामा बृद्धि भएको उहाँको तर्क थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७ आइतबार ००:००  ८ : ०९ बजे